कालिकोटमा पनि सरकारविरुद्ध कांग्रेसको प्रदर्शन

बिएल

नेपाली कांग्रेस कालिकोटले वर्तमान सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ। कांग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार भदौ २४ गतेबाट सुरु भएको दोस्रो चरणको जनजागरण अभियानको समापनका साथै सरकारविरुद्ध विरोध प्रदर्शन गरेको हो।

जिल्ला सदरमुकाम मान्म बजारको प्रतिमा चौकदेखि जिरोपोइन्टसम्म नाराबाजी सहितको विरोध र्‍यालीका साथै जिल्ला समन्वय समितिको खुलामञ्चमा विरोध सभा गरेको छ।

बलात्कारी, भ्रष्टाचारी, माफियाहरुको सरकारले नै संरक्षण गरेको, सामान्य नागरिकहरुबाट चर्को कर असुल्ने तर करछली गर्ने एनसेल कम्पनीलाई कर छुट गराएको, नेपाली जनतालाई रेल र पानी जहाजका सपना देखाएर आफ्ना आसेपासेहरुको सम्बृद्धिमा लागेको भन्दै कालिकोटका कांग्रेसहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन्।


विरोध सभामा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि तिलकबहादुर मल्ल, नेपाली कांग्रेस कालिकोटका उपसभापति तथा क्षेत्र नं. १ का पार्टी सभापति शंकरप्रसाद उपाध्याय, नेपाली कांग्रेस कालिकोट क्षेत्र नं.२ का पार्टी सभापति दमनबहादुर शाही, कांग्रेस नेता मिनबहादुर बोगटी, तारा शाह, शुशिला शाही लगायतका वक्ताहरुले वर्तमान अधिनायकबादी सरकारविरुद्ध कांग्रेसले फेरि एक पटक आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए।

उनीहरुले संघीय संरचनापछि बनेका तीनवटै तहमा रहेका सरकारहरुले जनताको हितमा काम नगरी भ्रष्टाचारी, बलात्कारी, हत्यारा, माफियाहरुको पक्षमा काम गरेको आरोप लगाउँदै यसका विषयमा नागरिकहरुलाई जानकारी गराउन कांग्रेस गाँउ पसेको बताए।

उनीहरुले जिल्लाका स्थानीय तहले पनि बढी कर लिने, विकासका कामहरु डोजरलाई दिएर स्थानीयको रोजगारी खोस्ने, विकासका नाममा आएको बजेटलाई जनप्रतिनिधिका आसेपासेको हितमा लगानी गर्ने लगायतका गलत गतिविधिहरु गरिरहेको बताउँदै यसका विरुद्धमा भण्डाफोर अभियान थाल्ने उद्घोष गरेका छन्।

प्रकाशित मिति: : 2019-09-24 18:00:46

प्रतिकृया दिनुहोस्