टिकट पाउनै सकस

तस्बिरः अभियान दैनिक

काठमाडौं । यातायात व्यवसायीहरूले असोज १८ गतेसम्मका लामो दूरीका लागि सबै टिकट बुक भइसकेको दाबी गरिरहँदा आइतवारसम्म ८५ हजार ९१ ओटा टिकट मात्र बुक भएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले बताएको छ । राजधानी काठमाडौंबाट दशैंमा बाहिरिने लाखौं यात्रुको सहज यात्रालाई ध्यानमा राखी असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । प्रत्येक वर्ष दशैं मनाउन राजधानीबाट करीब २५ लाख मानिस बाहिरिने गरेका छन् । उपत्यका ट्राफिकका अनुसार असोज ५ देखि १२ सम्म लगभग ७ लाख मानिस काठमाडौंबाट बाहिरिएका छन् । यसरी काठमाडौबाट बाहिरिनेको संख्या घटस्थापनादेखि ≈वात्तै बढ्ने गर्छ । त्यसको अर्थ हुन्छ, अझै १८ लाख मानिस राजधानीबाट दशैं मनाउन आआफ्नो थातथलो जान बाँकी नै छ । 

तर, गोगंबु बसपार्क, गौशाला, सुन्धारालगायत टिकट काउन्टरमा काठमाडौंबाट घर जानका लागि टिकट नपाउनेको संख्या पनि उत्तिकै छ । आइतवार सुन्धारामा भेटिएकी कैलाली टीकापुरकी देवसरा उपाध्यायले आइतवार दिउँसोसम्म सुदूरपश्चिमका काउन्टरबाट टिकट नपाएकोे बताइन् । ‘३ दिनदेखि टिकटका लागि सुन्धारा र बसपार्कका काउन्टरमा धाइरहेकी छु तर पनि टिकट पाएकी छैन ।’ यस्तै सुर्खेतका खगेन्द्र विश्वकर्माले पनि टिकट नपाएको बताए ।

प्रकाशित मिति: : 2019-09-30 07:03:39

प्रतिकृया दिनुहोस्