सरकार सङ्घीयता र लोकतन्त्र सिध्याउने षडयन्त्रमा लाग्यो: उपसभापति निधि

फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार सङ्घीयता र लोकतन्त्र सिध्याउने षडयन्त्रमा लागेको आरोप लगाएका छन् ।

सोमबार धनुषाको नगराईन नगरपालिकामा आयोजित कार्यक्रममा उपसभापति निधिले चीनको पथमा हिडेको आरोप लगाउदै उनले नेकपा नेपालबाट संघीयता, लोकतन्त्र र संसदीय व्यवस्था अन्त्य गर्ने खेलमा लागेको बताए ।

दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रम अन्तर्गत आयोजित आमसभामा उपसभापति निधिले भने ‘संघीयता र लोकतन्त्र सिध्याउने खेल अनुसार नेकपा चिनियाँ कम्युनिस्ट पार्टीको पथमा किन हिँड्न थाल्यो ।’

चीनमा लोकतन्त्र, संसदीय व्यवस्था र संघीयताको नरहेको उनले बताए ।उनले भने- ‘नेपालका कम्युनिस्ट आफू प्रशिक्षित हुन कम्युनिस्ट पार्टी अफ चाइनाको विचार आयात गर्दैछन्।'

उनले संघीयता र संविधानमाथि अरु कोही भन्दा पनि नेकपा सरकारबाटै खतरा रहेको आरोप लगाए ।

सरकारले संसदमा पेश गरेका विधेयकहरु समेत संघीयताविरोधी देखिएको निधिले बताए । ‘संसदमा एकपछि अर्को विधेयक संघीयताको विरुद्धमा,  संविधानको विरुद्धमा,  स्वतन्त्र न्यायपालिकाको विरुद्धमा र प्रेस स्वतन्त्रताको विरुद्धमा काम आइरहेका छन्’ निधिले भने ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन देशभित्र र बाहिरका लोकतन्त्रबवादीहरु एक हुनुपर्ने नेता निधिको भनाइ छ । ‘नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा कायम राखिराख्ने कि जनवादी गणतन्त्रको रुपमा जान दिन टुलुटुलु हेरेर बस्ने भन्नेबीचको अवस्थामा छौं’ उनले भने ।

प्रकाशित मिति: : 2019-09-23 20:40:11

प्रतिकृया दिनुहोस्