कम्युनिस्टहरु स्खलित हुँदै गए : अध्यक्ष दाहाल (भिडियोसहित)

तस्बिरः बिएल

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्टहरु स्खलित हुँदै गएको बताएका छन् । उनले नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादतिरको यात्रामा जाँदै गर्दा विचार, राजनीति र संगठनात्मक जीवनको आचारणबारे आफुहरुमा प्रस्ट गनुपर्ने चुनौती रहेको समेत बताए ।

स्वर्गीय साहाना प्रधानको पाँचौ समृति सभालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खुला राजनीति र शासनसत्तामा पुगेसँगै आदर्श, विचार र निष्ठाबाट विस्तारै थाहा नै नपाई स्खलित हुन पुगेको बताए । उनले नाम कम्युनिस्ट पार्टी नै रहेपनि व्यवहार त्यसअनुसारको नभएको बताए ।

उनले कम्युनिस्ट भनेको गरिव, पीडित न्यायका निम्ती भन्ने जनताले बुझेपनि अहिले कम्युनिस्टहरुको स्वभाव र आचरणमा अरुभन्दा फरक नभएको बताए । जनवादी क्रान्तिका निम्ति गर्नुपर्ने निष्ठा र त्याग गरिएपनि समाजवादी क्रान्ति गर्न आवाश्यक पर्ने विचारको स्पष्टता आयो त ? भन्दै प्रचण्डले पुनः आफैमाथि प्रश्न गरे ।

‘त्यो विचार अनुसारको व्यवहार, आचरण, क्रियाकलाप, जीवनचर्या हाम्रो नीतिअनुसार अगाडि बढेको छ कि वर्गविभेदलाई मेटेर वर्ग समन्वय हुँदै गएको छ आजको मुख्य प्रश्न यहि हो,’ प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले निरंकुश तानाशाही राणाशासनविरुद्ध जीवनभर लडेकी नेतृ साहाना प्रधानलाई स्मरण र सम्मान गर्दैगर्दा सवैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताए ।कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले साहाना प्रधानले नेपालको कम्युनिस्ट आन्दोलनमा गरेको योगदान अविस्मरणीय रहेको बताएका थिए ।

प्रकाशित मिति: : 2019-09-23 12:45:55

प्रतिकृया दिनुहोस्