चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति, पठनपाठन आइतबारबाटै सुचारु हुने

बिएल

चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयमा शनिबार भएको वार्तामा सरकारले तोकेको भन्दा बढी शुल्क ३० दिनभित्र फिर्ता वा समायोजन गर्न मेडिकल कलेज सहमत भएपछि कलेज प्रशासन, विद्यार्थी र अभिभावकबीच सहमति जुटेको हो।

यो सहमतिसँगै विद्यार्थीहरुको आन्दोलन तत्कालका लागि स्थगित भएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार विगत लामो समयदेखि ठप्प रहेको पठनपाठन आइतबारबाटै सुचारु हुनेछ।

मेडिकल कलेजले सरकारले तोकेको भन्दा १२ लाख बढी शुल्क अवैध रुपमा असुलेको भन्दै विद्यार्थीहरुले चरणवद्ध आन्दोलनमा गरिरहेका थिए । विद्यार्थी आन्दोलित बनेपछि विगत १९ दिनदेखि कलेजको पठनपाठन ठप्प रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी बस्नेतको रोहवरमा भएको वार्तामा कलेजका प्रमुख हरिस न्यौपाने, प्रमुख प्रशासक प्रताप देवकोटा, आन्दोलनरत विद्यार्थी प्रकाश चन्दको नेतृत्वमा विद्यार्थीहरु र अभिभावकहरु सहभागि भएका थिए ।

प्रकाशित मिति: : 2019-09-21 20:18:52

प्रतिकृया दिनुहोस्