दाहालको धारणा पार्टीमा छलफल हुने

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। फाइल तस्बिर

काठमाडौं : कुटनीतिक मामिलामा पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल पटक पटक विवादमा तानिएपछि एकरुपता दिन पार्टीले पहल गर्ने भएको छ । नेकपाले दलभित्र छलफल गरी कूटनीति, राष्ट्रिय सुरक्षा, छिमेक र शक्ति मुलुकसँगको नीति एवं प्राथमिकतामा समान धारणा बनाउने तयारी थालेको हो । जिम्मेवार नेतानै कूटनीतिक मामिलामा चिप्लिन थालेपछि नेकपा सचिवालय गम्भीर भएको हो । सामान्य शब्दले समेत कूटनीतिमा ठूलो उथलपुथल ल्याउन सक्नेतर्फ सचेत हुनुपर्छ ।

‘अध्यक्षज्यूले कुन प्रशंगमा कसरी बोल्नु भयो त्यो विषयमा छलफल हुन पाएको छैन’, नेकपा प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अन्नपूर्णसँग भने, ‘तर एक छिमेकीले अर्को मित्र मुलुकबारेको छलफललाई बाहिर ल्याएको विषयमा गम्भीर हुन आवश्यक छ ।’ चिनियाँ विदेशमन्त्रीसँगको कुराकानीका क्रममा दाहालले भनेको भन्दै बेइजिङमा सार्वजनिक भएपछि विवाद बढेको हो । ‘विदेशमन्त्रीसँग भएका कुराकानीबारे खासै हुन पाएको छैन । अध्यक्ष दाहाल पूर्वतिर हुनुहुन्छ । फर्केपछि यसमा छलफल हुनेछ’, प्रवक्ता श्रेष्ठले भने ।

प्रकाशित मिति: : 2019-09-14 07:16:29

प्रतिकृया दिनुहोस्