ठेकेदारलाई धम्क्याउँदै चन्दा मागेपछि गृहमन्त्रीका भाइ पक्राउ

तस्बिरः एजेन्सी

काठमाडौं । ठेकेदारलाई धम्क्याउँदै चन्दा मागेपछि गृहमन्त्री रामबहादुर थापा बादलका भाइ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एकसाताअघि काठमाडौंबाट उनलाई पक्राउ गरेको हो । गृहमन्त्रीका भाइ नरेश थापासहितको टोलीले केही महिनाअघिदेखि नै नाम चलेका करिब २५ ठेकेदारलाई टेलिफोन गरेर प्रत्येक ठेक्काको ‘तीन प्रतिशत’ रकम चन्दा माग गरेका थिए ।

नाम उल्लेख नगर्ने सर्तमा एकजना ठेकेदारले बाह्रखरीसँग कुरा गर्दै भने– फागुन चैततिरबाटै हामीलाई फोन गरेर ठेक्काको तीन प्रतिशत रकम नदिए जे पनि हुन सक्ने भन्दै धम्की आइरह्यो । फोन प्राइभेट नम्बर र अननोन आउँथ्यो । त्यसपछि हामीले संयुक्त रुपमा निवेदन लेखेर गृह मन्त्रालय, प्रहरी र संसदीय समितिमा पनि बुझाएका थियौं ।”

उनका अनुसार मोबाइल, कार्यालय र घरका सबै नम्बरमा फोन गरेर रकम नदिए जे पनि गर्ने चेतावनी उनीहरुले बारम्बार दिन्थे । प्रहरीले अनुसन्धानकै क्रममा साउनको अन्तिम साता पवन खड्का र सुरेन नगरकोटीलाई समातेको थियो । उनीहरुको बयानका आधारमा गृहमन्त्रीका भाइ नरेशलाई पनि एकसाताअघि पक्राउ गरिएको थियो ।
प्रकाशित मिति: : 2019-09-12 08:14:03

प्रतिकृया दिनुहोस्