संविधान दिवसमा सभामुखको शुभकामना

फाइल तस्बिर

सभामुख कृष्णबहादुर महराले ‘संविधान दिवस, २०७६’को अवसरमा सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

संविधान दिवस, २०७६ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले चार वर्ष अघि असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरिएको उल्लेख गर्दै नेपालको इतिहासमा ऐतिहासिक र युगान्तकारी परिवर्तनलाई संविधानमार्फत् संस्थागत गरिएको यस दिनको अवसरमा संविधानसभाबाट संविधान प्राप्तिका लागि भएका  सङ्घर्षमा शहादत प्राप्त गर्ने सहिदप्रति हार्दिक श्रद्धाञ्जलि तथा बेपत्ता योद्धाप्रति उच्च सम्मान अर्पण गर्दछु भनेका छन्।

नेपालको संविधान जारी भएयताका चार वर्षको बीचमा सङ्घीय संसद्ले विभिन्न ऐन कानूनको निर्माण गरी संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उनले सन्देशमा उल्लेख गरेका छन्।

‘आगामी दिनमा पनि आवश्यक ऐन कानून निर्माणमा विशेष तदारुकता दिँदै संविधानको गरिमा बढाउन र संविधानलाई थप विकसित गर्न सङ्घीय संसद्ले निर्वाह गर्ने भूमिकामा कुनै कमी नहुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु’, सभामुख महराले सन्देशमा भनेका छन्।

संविधानले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी/समानुपातिक जस्ता महत्वपूर्ण उपलब्धि हासिल गरेको सभामुख महराले सन्देशमा उल्लेख गरेका छन्।

‘आम नागरिकको मौलिक हक, अधिकार र स्वतन्त्रताको सुनिश्चितता गरेको र संविधानको यही मर्मलाई आत्मसात गर्दै नेपाली जनताको सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय एकता, स्वाभिमान एवं भौगोलिक अखण्डतालाई मजबुत बनाउँदै संविधान कार्यान्वयन र यसको पूर्ण पालना गर्न हामी सबैलाई प्रेरणा प्राप्त होस्’, सभामुख महराले सन्देशमा भनेका छन्।

प्रकाशित मिति: : 2019-09-20 01:07:07

प्रतिकृया दिनुहोस्