‘संविधान कार्यान्वयन र पालन गर्नु सबै नेपालीको कर्तव्य’- उपराष्ट्रपति

फाइल तस्बिर

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्न र संविधानको कार्यान्वयन र पालनमा लाग्नु सबै नेपालीको कर्तव्य भएको बताएका छन्।

संविधान दिवस, २०७६ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफैँ जारी गरेको ऐतिहासिक दिनका रुपमा यस दिनलाई स्मरण गरेका छन्।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत नेपाली जनताले प्राप्त गरेका उपलब्धि संस्थागत भएको दिनका अवसरमा सबै नेपालीमा बधाई ज्ञापन गरेका छन्।  जनताका जीवनमा परिवर्तन देखा पर्न थालेको भन्दै उनले संविधान कार्यान्वयनका बाँकी कार्य यथाशीघ्र अगाडि बढ्ने विश्वास व्यक्त गरे।

संविधान र कानूनप्रति हरेक नेपाली जनता पूर्ण जानकार हुनुपर्ने र यसका लागि सरकार र सरोकारवाला पक्षले प्रभावकारी कार्य गर्नुपर्ने सन्देशमा भनिएको छ । ‘हरेक नेपाली जनताले संविधानप्रति अपनत्व महसुस गर्दै आदर र सम्मान गर्नुपर्दछ’, सन्देशमा भनिएको छ । संविधानले कल्पना गरेको समाजवादोन्मुख व्यवस्था र नेपाल सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न देश आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नति र समृद्धिको मार्गमा अघि बढ्ने उनको विश्वास छ।

प्रकाशित मिति: : 2019-09-20 00:58:58

प्रतिकृया दिनुहोस्