के हो डाक्टर दम्पत्तिको दाइजो विवाद ?

बुधबार पत्रकार सम्मेलनमा डाक्टर राजेश साह र उनकी श्रीमती डाक्टर निलम साहबीचको घम्साघम्सी । तस्बिर : क्रान्ति शाह

वीरगन्ज : बुधबार वीरगन्जमा डा. राजेश शाहले दाइजो विवादबारे प्रष्ट्याउन पत्रकार सम्मेलनको आयोजना गरे।श्रीमती डा. निलमसँगको सम्बन्धबारे जानकारी गराउँदै गर्दा उनी त्यहीँ पुगिन्।पत्रकार सम्मेलनमा निलम पुगेपछि दम्पत्तिको विवाद पत्रकारसामू छताछुल्ल भयो।

बिहेको समयमा माइती पक्षले दिएको दाइजो नपुगेर श्रीमानको परिवारले आफूलाई हिंसा र दुर्व्यवहार गरेको भन्दै केही दिनअघि पत्रकार सम्मेलन गरेकी थिइन्। 

विवाहका बेला माइती पक्षले ३५ लाख रुपैयाँ दिएको निमलमको दाबी छ। पुनः राजेशको परिवारले २५ लाख रुपैयाँ नगद वा एउटा कार मागेर मानसिक र शारीरिक यातना दिएको भन्दै निलम मिडियासम्म पुगेकी थिइन्।

श्रीमान राजेश भने दाइजोमा एक रुपैयाँ पनि नलिएको दाबी गर्छन्।‘बिहेका बेला दाइजोमा एक रुपैयाँ पनि लिएका थिएनौँ। अहिले थप २५ लाख नगद वा कार मागेको भन्ने आरोप निराधार हो’, उनी भन्छन्, ‘दाइजो मागेको प्रमाण छ भने म जस्तोसुकै सजाय भोग्न तयार छु।’

आफू र आफ्नो परिवारले निलममाथि घरेलु हिंसा नगरेको राजेशको दाबी छ। ‘एक त उनी पाँच वर्षदेखि मेरो घरमा बसेकी छैनन्, म पनि अध्ययनका लागि विदेशमा बस्दै आएको छु’, उनले भने, ‘अब यो अवस्थामा मैले वा मेरो बुबाआमाले उनीसँग कहिले र कसरी हिंसा गरे?’ उनले अब आफू श्रीमतीसँग बस्न नसक्ने भन्दै सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएको बताए। 

प्रकाशित मिति: : 2019-06-19 23:39:55

प्रतिकृया दिनुहोस्