एकता कता-कता !

तस्बिरः अन्नपूर्ण

सत्तारूढ नेकपा एकताको वर्ष दिन पुगेको छ। नितान्त फरक धारका दुई कम्युनिस्ट पार्टीको सिंगो संरचनाको एकता भने अझै भइसकेको छैन। सांगठनिक र सैद्धान्तिक दुवै पक्षमा थुप्रै काम बाँकी छन्।

भइसकेका काम पनि धेरै छन्। तर, बाँकी बढ्ता मतभिन्नताका छन्। त्यसैले पूर्ण एकीकरणका लागि अझै केही समय लाग्ने देखिन्छ। नेताहरू एकता पूर्णतया टुंग्याउन जोडतोडले लागेका देखिए पनि अवस्था कता–कता अल्झिएको छ।

२००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी २०१९ सालपछि विभिन्न समूहमा विभाजित थियो। अन्ततः ५६ वर्षपछि २०७५ जेठ ३ गते दुई ठूला कम्युनिस्ट घटक अचानक एक भई राजनीतिक दुनियाँलाई चकित तुल्याएका थिए।

केन्द्रीय समितिको औपचारिक बैठक वर्ष दिनमा एकपटक पनि बसेको छैन। तत्कालीन पार्टीका तल्लो तहसम्म पूर्ण एकता भइसकेको छैन। पार्टी जिल्ला कमिटी गठन र जनसंगठनको नेतृत्व चयनमा नेतृत्वलाई अति सकस परेको थियो।

गत वर्ष जेठमै तीन महिनाभित्र सम्पूर्ण तहको एकता प्रक्रिया टुंग्याउने शीर्ष नेताहरुले बताएका थिए। त्यसको चार गुणा अवधि बितिसकेको छ। वर्ष दिनपछि बल्लतल्ल जनवर्गीय तथा पेसागत संगठनको नाम, नेतृत्व र केन्द्रीय समितिको संख्या सचिवालयले टुंगो लगाएको छ।

प्रकाशित मिति: : 2019-05-17 07:19:57

प्रतिकृया दिनुहोस्