अख्तियारका तत्कालिन आयुक्त राजनारायण पाठकको बयान यसरी बाझियो

रातोपाटी

काठमाडौँ– घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले विशेष अदालतलाई दिएको बयान आफैमा बाझिएको भेटिएको छ ।

पाठकले विशेष अदालतमा हाजिर भएर बयान दिने क्रममा आफु सामान्य आर्थिक हैसियत भएको र खानलाउन पुग्ने मात्रै भएको बताएका छन् । तर बयानपछि पाठक बुधबारै ७८ लाख धरौटी बुझाएर रिहा भएका छन् । यसले उनको आर्थिक हैसियतबारे भनाइ र गराइमा भिन्नता भएको प्रस्टै बुझिन्छ । त्यस्तै, सामान्य खान लाउन पुग्ने व्यक्तिलाई बैंकले पनि कसरी ७८ लाख रुपैयाँको बैंक ग्यारेन्टी पत्याउन सक्छ भन्ने प्रश्न उठेको छ । बुधबार बयान सकिएको एक घण्टामै पाठकले उक्त रकम जुटाएका थिए ।

आर्थिक अवस्था सामान्य रहेको बताउने पाठकले एक घण्टामै कसरी ७८ लाख रुपैयाँ जुटाउन सके भन्ने प्रश्न उठ्नुका साथै उनी आफैले दिएको बयानसँग बाझिएको छ ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासमा पाठकले २८ वटा प्रश्नको जवाफ दिएका थिए।

अदालतमा बयान लिने क्रममा ‘सामान्य आर्थिक हैसियत’ भएका पाठकलाई सोधिएको स्वास्थ्य अवस्थाबारेको प्रश्नमा पाठकले उपचारका लागि बेलाबखत आफू विदेश पनि जानु परिरहेको जवाफ दिएका छन् ।

प्रकाशित मिति: : 2019-05-16 14:48:33

प्रतिकृया दिनुहोस्