बीपी कोइरालाको ४० वर्ष पुरानो अप्रकाशित अन्तर्वार्ता– प्रधानमन्त्री बन्नेभन्दा ठूलो लक्ष्य

तस्बिरः बाह्रखरी

स्वर्गीय बीपी कोइराला, नेपाली राजनीतिका सर्वकालिन शिखर पुरुष हुन् । उनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री थिए भने नेपाली भाषाका अत्यन्त प्रभावशाली साहित्यकार पनि ।  नेपालमा प्रजातन्त्र स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका बीपी २०१५ सालमा भएको आमनिर्वाचनमा दुईतिहाइ मतका साथ प्रधानमन्त्री बने । तर, तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते गरेको राजनीतिक ‘कू’ पछि बीपीले पटक–पटक जेलनेल बेहोर्नुपर्‍यो । राणा शासन अन्त्यको लागि नेतृत्वदायी भूमिकामा रहेका बीपीले शाह राजालाई अधिकार दिलाउन निकै ठूलो भूमिका खेलेपनि उनको राजदरबारसँग प्रायः शत्रुतापूर्ण सम्बन्ध रह्यो । 

राजनीतिक अधिकार खोसिएपछि भारत निर्वासनमा बसेर नेपालमा प्रजातन्त्र पुनस्र्थापित गर्न लागिपरेका बीपी भारतमा इन्दिरा गान्धीले इमर्जेन्सी लगाएपश्चात् गान्धीको कदमको विरोध गर्दै वि.सं. २०३३ सालमा ‘राष्ट्रिय मेलमिलाप’को नीति अंगाल्दै नेपाल फर्किएका थिए । नेपालमा आउने बित्तिकै राजा वीरेन्द्रले उनलाई जेलमा कैदीको रुपमा राखेका थिए । बीपी क्यान्सर पीडित भएका कारण वि.सं. २०३५ सालमा उनलाई उपचारका लागि विदेश जान अनुमति दिइएको थियो ।

 
 
 

स्वास्थ्य उपचारका लागि शैलजा आचार्यलाई लिएर उनी लन्डन पुगेका थिए । उच्च प्रतिष्ठित व्यक्तित्वहरू लन्डन पुगेका बेला बीबीसी नेपाली सेवाले अवसरको सदुपयोग गर्दै अन्तर्वार्ता लिइरहन्थ्यो । बीबीसी वर्ल्ड सर्भिसले नेपाली सेवालाई खबरै नगरी बीपीलाई ‘लन्च’का लागि बोलायो । नेपाली सेवा छुट्यो । 
त्यसपछि बीबीसी नेपाली सेवाका पत्रकारद्वय मणि राणा र ध्रुवहरि अधिकारी बीपी बसेकै ठाउँमा पुगेर आधा घन्टा लामो अन्तर्वार्ता गरे । 

तर, त्यसबेलाको समसामयिक राजनीतिक विषयमा गरिएको अन्तर्वार्ता बीबीसीबाट प्रसारण भएन । प्रतिबन्धित अवस्थामा रहेको नेपाली कांग्रेसका नेता बीपीसँग गरिएको अन्तर्वार्ता किन प्रसारण भएन भन्ने कुरा अहिलेसम्म पनि आफूहरुलाई जानकारी नभएको वरिष्ठ पत्रकार मणि राणाले बाह्रखरीसँगको कुराकानीमा बताए ।

प्रकाशित मिति: : 2019-05-15 16:23:28

प्रतिकृया दिनुहोस्