त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : एक महिनामा ६५० मिटर धावनमार्ग मर्मत

धावनमार्ग मर्मत गर्दै मजदुरहरू । तस्बिर: अमुल थापा/नयाँ पत्रिका

देशकै एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मत सुरु गरेको एक महिनामा ६ सय ५० मिटर मर्मत सकिएको छ । ३ हजार ५० मिटर लम्बाइ रहेको धावनमार्ग हरेक दिन राति १० बजदेखि भोलिपल्ट बिहान ८ बजेसम्म मर्मत भइरहेको छ । ४ अर्ब २७ करोड रुपैयाँ लागतमा धावनमार्गको मर्मत ठेक्का चाइना नेसनल एरोटेक्निकल इन्जिनियरिङले पाएको छ ।

सन् १९७५ मा ३ हजार मिटर लम्बाइ र ४५ मिटर फराकिलो बनाइएको धावनमार्ग त्यसयता पहिलोपटक मर्मत गरिँदै छ । मर्मत थालिएको एक महिनाको अवधिमा एक दिन मात्र पानी परेका कारण काम रोकिएको धावनमार्ग मर्मत परियोजनाका अधिकृत दीपेन्द्र श्रेष्ठले जानकारी दिए । धावनमार्ग मर्मतकै क्रममा पनि उडानयोग्य बनाइराख्नुपर्ने भएकाले अत्यन्त महत्वका साथ निगरानी भइरहेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए । उनले भने, ‘एक महिनासम्मको कार्य मूल्यांकन गर्दा तोकिएको तीन महिनाभित्र धावनमार्गको मर्मत सम्पन्न हुनेछ ।’

प्रकाशित मिति: : 2019-05-02 09:23:48

प्रतिकृया दिनुहोस्