कलाकारको आवरणमा मानव तस्करी र ठगी

नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेको छ । नेपाल प्रहरीको पटक–पटकको आग्रहपछि इन्टरपोलले बिहीबार नोटिस जारी गरेको हो । 

आठ महिनादेखि नेपाल प्रहरीको फरार सूचीमा रहेका गौतम अब जुनसुकै देशमा पक्राउ पर्न सक्छन् । हाल उनी क्यानडा बस्दै आएका छन् । उनी क्यानेडियन नागरिक भइसकेकाले नेपाल ल्याउन भने कठिन हुन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् । ‘उनीविरुद्ध रेड नोटिस जारी गर्न हामीले आठ महिनादेखि प्रयास गर्दै आएका थियौँ,’ प्रहरीको इन्टरपोल शाखा प्रमुख एसएसपी उमेशराज जोशीले भने, ‘लामो प्रयासपछि रेड नोटिस जारी गर्न हामी सफल भएका छौँ । उनलाई नेपाल ल्याएर अब कारबाही गर्न सहज भएको छ ।’ गौतम विदेशी नागरिक भएकाले उनीविरुद्धका प्रमाण पटक–पटक इन्टरपोलले मागेको थियो । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले गत साउनमै वारेन्ट जारी गरेको थियो । 

प्रकाशित मिति: : 2019-04-27 08:29:11

प्रतिकृया दिनुहोस्