२७ वर्षपछि कोमाबाट बौरिएकी आमाको मुखबाट निस्केको पहिलो शब्द- छोराको नाम

२७ वर्षपछि 'कोमा' बाट बौरिएकी मुनिरा अब्दुल्ला। तस्बिर: द नेसनल

सडक दुर्घटनामा परेर ‘कोमा’ मा गएकी संयुक्त अरब इमिरेट्सकी एक महिला २७ वर्षपछि बौरिएकी छन्।

सन् १९९१ मा दुर्घटना पर्दा मुनिरा अब्दुल्ला नामकी ती महिलाको उमेर ३२ वर्ष थियो।

उनी आफ्ना चार वर्षे छोरा ओमारलाई स्कुलबाट लिएर घर फर्कंदै थिइन्। बाटोमा उनको कार बससँग ठोक्कियो। लगत्तै मुनिराले छोरालाई लपक्क छातीमा टाँसिन्। यसले ओमार उछिट्टिन पाएनन्। उनको टाउकोमा सामान्य चोट मात्र लाग्यो।

मुनिरा भने मस्तिष्कमा गम्भीर घाउ भएर ‘कोमा’ मा गइन्।

जर्मन अस्पतालमा उपचाररत् मुनिराको स्वास्थ्यमा पछिल्लो एक वर्षदेखि सुधार देखिन थालेको थियो।

ओमारले हालै संयुक्त अरब इमिरेट्सको ‘द नेसनल’ पत्रिकालाई अन्तर्वार्ता दिँदै उक्त दुर्घटनाको स्मरण गरेका छन्।

‘मैले आमाको स्वास्थ्यलाई लिएर कहिल्यै माया मारिनँ,’ उनले अन्तर्वार्तामा भनेका छन्, ‘एक न एक दिन उहाँ कोमाबाट उठ्नुहुन्छ भन्ने मलाई विश्वास थियो।’

दुर्घटनाको सम्झना गर्दै उनले भने, ‘म आमासँगै कारको पछाडि सिटमा बसेको थिएँ। जब हाम्रो गाडी बससँग ठोक्किन लागेको आमाले चाल पाउनुभयो, उहाँले मलाई अंगालोमा च्याप्प बाँध्नुभयो। कार ड्याम्म ठोक्किएर उलटपुलट हुँदा पनि आमाले मलाई अंगालोबाट फुत्किन दिनुभएन।’

प्रकाशित मिति: : 2019-04-24 00:32:45

प्रतिकृया दिनुहोस्