लगातार राज्यकाे विपक्षमा उभिएकाे थवाङ पुनः चर्चामा

तस्बिरः नेपाल लाइभ

रोल्पा- लामो समय गुमनाम भएको रोल्पाको थवाङ पुनः चर्चाको केन्द्रमा छ।

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता कार्यकर्ताको घर तोडफोड गर्नुका साथै महिला बालबालिकामाथि प्रहरीले मार्नेसम्मकाे धम्की दिँदै त्रास सिर्जना गरिएकाले जीउधनको सुरक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेकाे घटना बाहिरिएसँगै थवाङ पुनः चर्चाको केन्द्रमा पुगेको हो।

सशस्त्र युद्धको झल्को दिनेगरी प्रहरीले आफ्नाे घरको ढोका तोडफोड गरी महिला तथा बालबालिकामा आतंक सिर्जना गरेकाे उनीहरुको आरोप छ।

स्थानीयवासीसमेत रहेका विप्लव नेतृत्वको नेकपा रोल्पाका इन्चार्ज जयप्रकाश रोका, युवा नेता अमित घर्ती लगायतको घरको ढोका फोडी गाउँलाई नै आतंकित पार्न खोजेको उनीहरुले आरोप लगाएका छन्।

केही दिनअघि उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसहित पूर्व सभामुख ओनसरी घर्ती, प्रदेश सभा सदस्य दीपेन्द्र पुन, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढासहितको टाेली थवाङ पुगेकाे थियाे। 'गन्तव्य जलजला' कार्यक्रममा आतिथ्यता जनाउन थवाङ पुगेकाे मन्त्री नेतृत्वकाे टाेलीमै रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी दीपक खड्काले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको उनीहरुको आरोप छ।

प्रकाशित मिति: : 2019-04-23 01:02:35

प्रतिकृया दिनुहोस्