शहिद स्मारक ‘ए’ डिभिजन लिग: हिलाम्य मैदान, उद्घाटन खेल नै सर्‍यो !

तस्बिर: बिएल

शहिद स्मारक ‘ए’ डिभिजन लिग शनिबारदेखि सुरु हुँदैछ। दशरथ रंगशालामा दिउँसो ३ः०० बजे हुने उद्घाटन खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लब भिड्दैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तय भएको मछिन्द्र र ब्रिगेड ब्वाईज क्लबबीचको उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा सरेको छ। शुक्रबार परेको वर्षाले मैदान हिलाम्य हुँदा खेल एन्फा मैदानमा सरेको हो।

अब मछिन्द्र र ब्रिगेड ब्वाईजबीचको पहिलो एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ।

यस सिजन राष्ट्रिय टोलीका स्टार खेलाडी भित्र्याएको मछिन्द्र लिगको उपाधि जित्ने दाउमा छ। एन्फा एकेडेमीका खेलाडीलाई पहिलो रोजाईका राखेको ब्रिगेड पनि पहिलो खेलमै मच्छिन्द्रलाई अत्याउने दाउमा छ। ब्रिगेडले एकेडेमीका खेलाडी सहित अनुभवी स्ट्राईकर अनिल गुरुङ र पुराना खेलाडीलाई मौका दिएको छ। मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले टोलीमा राम्रा खेलाडी रहेको र छोटो समयमा पनि राम्रो तयारी गरेकोले लिग जित्ने दावी गरेका छन्।

ब्रिगेड ब्वाईजका म्यानेजर अर्विन गुरुङले टोलीका अनुभवी र युवा खेलाडीको समिश्रण रहेकाले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने बताए। यी दुई क्लबले जस्तै लिगमा सहभागी अन्य क्लब र प्रशिक्षक सबैले उपाधि जित्ने दावी गरेका छन्।

एन्फाले लिगका लागि दुई फरक टिकट मूल्य तोकेको छ। एन्फाले सामान्यतर्फ २ सय र भिआईपीतर्फ ५ सयको टिकट राखेको छ।

लिगका लागि टिकट प्रभु पेबाट किन्न सकिनेछ एन्फाले जनाएको छ।

फागुन ३ गते सकिने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन्। जसमा कुल ९१ खेल हुनेछ। हरेक राउण्डमा ७ खेल हुनेछ। शीर्ष टोलीले उपाधि जित्ने छन्।

यस्तै लिगमा एक मात्र टिम घटुवा हुनेछ। विजेताले ५० लाख रउपविजेताले ३५ लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने छन्। चौंथोले १५, पाँचौले ७ र छैटौंले ५ लाख पाउने छन्।

एन्फाले हरेक खेल जित्ने टिमलाई बोनस वापत थप ५० हजार दिनेछ भने बराबरी भए १५/१५ हजार दिनेछ।

क्लबलाई तयारी खर्चको लागि एन्फाले २०/२० लाख समेत उपलब्ध गराउने छ।

यस्तै प्रतियोगिताको उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई १ लाख ५० हजार प्रदान गरिनेछ।

हरेक खेलको म्यान अफ दि म्याचलाई १० हजार र फेयर प्ले टिमले १ लाख पाउने छन्।

लिगका लागि क्लबले ४ जना विदेशी खेलाडी राख्न पाउनेछन्। जसमा एक जना दक्षिण एसियाली देशको हुनुपर्नेछ। चार जना विदेशी खेलाडी एकै पटक खेलाउन पाउने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए। क्लबले १८ देखि ४५ वर्षभित्रका खेलाडी मात्र दर्ता गराउने पाउनेछन् ।

एन्फाले गत वर्ष आयोजना गरेको रेलिगेसनबिनाको लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो।

प्रकाशित मिति: : 2019-12-14 11:27:10

प्रतिकृया दिनुहोस्