‘ए’ डिभिजन लिग आजबाट,मछिन्द्र र ब्रिगेड ब्वाईज भिड्दै

फाइल तस्बिर: बिएल

सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन शनिबारबाट सुरु हुदैछ।

घरेलु फुटबलका शीर्ष डिभिजनका क्लबले प्रतिस्पर्धा गर्ने लिगको खेल आज सुरु हुन लागेको हो ।

उद्घाटन खेलमा शनिबार मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खेल दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ ।

एन्फाले लिगका लागि दुई फरक टिकट मूल्य तोकेको छ। एन्फाले सामान्यतर्फ २ सय र भिआईपीतर्फ ५ सयको टिकट राखेको छ।

लिगका लागि टिकट प्रभु पेबाट किन्न सकिनेछ एन्फाले जनाएको छ।

फागुन ३ गते सकिने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन्। जसमा कुल ९१ खेल हुनेछ। हरेक राउण्डमा ७ खेल हुनेछ। शीर्ष टोलीले उपाधि जित्ने छन्।

यस्तै लिगमा एक मात्र टिम घटुवा हुनेछ। विजेताले ५० लाख रउपविजेताले ३५ लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने छन्। चौंथोले १५, पाँचौले ७ र छैटौंले ५ लाख पाउने छन्।

एन्फाले हरेक खेल जित्ने टिमलाई बोनस वापत थप ५० हजार दिनेछ भने बराबरी भए १५/१५ हजार दिनेछ।

क्लबलाई तयारी खर्चको लागि एन्फाले २०/२० लाख समेत उपलब्ध गराउने छ।

यस्तै प्रतियोगिताको उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई १ लाख ५० हजार प्रदान गरिनेछ।

हरेक खेलको म्यान अफ दि म्याचलाई १० हजार र फेयर प्ले टिमले १ लाख पाउने छन्।

लिगका लागि क्लबले ४ जना विदेशी खेलाडी राख्न पाउनेछन्। जसमा एक जना दक्षिण एसियाली देशको हुनुपर्नेछ। चार जना विदेशी खेलाडी एकै पटक खेलाउन पाउने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए। क्लबले १८ देखि ४५ वर्षभित्रका खेलाडी मात्र दर्ता गराउने पाउनेछन् ।

एन्फाले गत वर्ष आयोजना गरेको रेलिगेसनबिनाको लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो।

प्रकाशित मिति: : 2019-12-14 08:25:02

प्रतिकृया दिनुहोस्