बिमल र दिनेशलाई ९० दिनको निलम्बन, ए डिभिजन लिग गुमाउने

फाइल तस्बिर: बिएल

अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन कमिटीले चार जना फुटबलरलाई निलम्बनका साथै ५० हजार जरिबाना लगाएको छ।

 बिमल  र दिनेशलाई ९० लिन निलम्बन गर्ने निर्णय गरेको छ। यससँगै दुबैले भोलिबाट सुरू हुने ए डिभिजन लिग गुमाउने भएका छन्।

अञ्जन विष्ट र सन्तोष तामाङलाई भने ४५ दिन मात्र निलम्बन गरिएको छ। उनीहरूले भने लिगका केही खेल खेल्न सक्नेछन्। फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेल खेल्न भुटान जानुभन्दा अघिल्लो राति डिस्कोमा गएका भन्दै अनुशासन समितिले चारै जनालाई निलम्बन गरेको हो। त्यही कारण उनीहरुले टिमबाट हटाइयो। चारै जनाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) समेत गुमाए।

ए डिभिजन लिग सुरु हुनु अघिल्लो दिन अनुशासन समितिले निलम्बनको निर्णय गरेको छ। उनीहरुको निलम्बन आज अर्थात डिसेम्बर १३ गतेदेखि लागू हुनेछ।

चारै जना खेलाडीलाई अनुशासन समितिले बयान लिनुका साथै उनीहरुको कागजपत्र पनि हेरेको थियो। त्यसैका आधारमा उनीहरुमाथि कारबाही गरिएकाे हो।

उनीहरु कारबाही अवधिभर कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन पाउने छैनन्। साथै उनीहरुले शनिबारबाट सुरु हुन लागेको लिग पनि गुमाउने भएका छन्।

अञ्जन यो सिजन मनाङबाट खेल्ने तयारीमा थिए। यस्तै दिनेश र सन्तोष विभागीय टिमबाट र विमलले गत सिजनदेखि च्यासलबाट खेलेका थिए।

के भएको थियो?

विश्वकप छनोटमा कुवेतविरुद्धको खेल खेल्ने नेपाली टोलीका सदस्यहरुलाई एन्फाले ललितपुरको कुपन्डोलस्थित सांग्रीला ब्लु होटलमा राखेको थियो। कार्तिक २९ गते शुक्रबार साँझ करिब साढे ६ बजेतिर विमलसहितका चार खेलाडी मोटरसाइकलमा त्यहाँबाट निस्किएका थिए। उनीहरुको मोटलसाइकल ठमेलतिर हुँइकियो। त्यसपछि उनीहरु झण्डै ५–६ घण्टासम्म हराए, होटल फर्किएनन्।

भोलिपल्ट बिदाई कार्यक्रम थियो। तर, मुख्य खेलाडीहरु नै राति अबेरसम्म गायव हुँदा टोलीका अन्य सदस्यहरु पनि आश्चर्यमा परेका थिए। भोलिपल्ट उनीहरुलाई टोलीबाट बर्खास्त गरिएपछि सबै घटना बाहिर आयो।

प्रशिक्षक योहान कालिनले अघिल्लो रातको घटनाक्रमबारे बताएपछि एन्फाका महासचिव इन्द्रमान तुलाधार, कार्यबाहक अध्यक्ष पंकज नेम्बाङ तथा उपाध्यक्ष कृष्ण थापाले विदाईअघि सबै खेलाडीलाई अलग–अलग राखेर शुक्रबार रातिको घटनाबारे जानकारी लिएका थिए।

उक्त सोधपुछमा खेलाडीहरुले आफ्नो बचाउमा पदाधिकारीहरुसँग रातभरि ठमेलमा घुमेको स्वीकार्दै मोटरसाइकल दुर्घटनामा चोट लागेको बताएका थिए।

‘बिहानसम्म पनि उनीहरुबाट मदिराको दुर्गन्ध आइरहेको थियो। अनुहारमा पनि चोट देखिन्छ। राति होटलबाट गएर गायब भएका थिए,’ एक पदाधिकारीले बिएल नेपाली सेवासँग भने, ‘सबै पक्ष हेर्दा उनीहरु घुमेर मात्रै फर्किएको कुनै पनि हालतमा पुष्टि हुँदैन। उनीहरुले त्यहाँ मदिरा सेवन गरेको तथा झैझगडा गरेको पनि शंका गरिएको छ।’

विमल र अन्जनले यसअघि पनि मापसे सेवन गरि एन्फा एकेडेमीमा पनि यसअघि होहल्ला गरेका थिए। सीसीटिभीबाट त्यो पुष्टि भएपछि उनीहरुलाई त्यसबेला एन्फाले सचेतमात्रै गराए छाडेको उक्त पदाधिकारीले जानकारी दिए।

प्रकाशित मिति: : 2019-12-13 20:44:08

प्रतिकृया दिनुहोस्