पदक विजेताहरुलाई पैदल नगर परिक्रमा, पानीले भिजायो (भिडियोसहित)

तस्बिर: बिएल

वर्षाको कारण १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीको नगर परिक्रमा प्रभावित बनेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको नगर परिक्रमामा पदक विजेता खेलाडीहरुको उल्लेख्य संख्यामा सहभागिता छ। बिहान ११ बजेबाट नगर परिक्रमा गराउने बताएपनि वर्षाको कारण नगर परिक्रमा ढिला सुरु भएको छ। पैदल हिँडेका उनीहरुलाई पानीले भने भिजाएको छ।

खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, राखेप सदस्य सचिब रमेश सिलवालले फूलमाला र अविर लगाएर नगर परिक्रमाको सुरुवात गरिएको छ।

र्‍याली न्युरोड, इन्द्र चोक, रत्नपार्क, सिंहदरबार,पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछ। राष्ट्रिय खेलकुद परिषदका अनुसार पुनः सल्लाघारी, कोटेश्वर, बानेश्वर हुँदै राखेपमा प्रांगणमा आएर समापन हुनेछ।

यसअघि पदकधारी खेलाडीलाई न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, राधे राधे, सल्लाघारी, सूर्यविनायक र पुनः सल्लाहघारी, राधे राधे, नयाँ थिमि, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै राखेप प्राङ्गणमा आएर परिक्रमा गराउने कार्यक्रम तय भएको थियो। 

मंगलबार काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९० कांस्यसहित २ सय ६ पदक जितेको थियो।

यसअघि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही रु नौ लाख पुरस्कार दिने घोषणा गरेका छन्।

एउटाभन्दा बढी स्वर्ण जित्नेलाई जनही रु ११ लाख प्रदान गरिनेछ। यस्तै ‘टिम इभेन्ट’तर्फ स्वर्ण जित्ने खेलाडीलाई जनही रु पाँच लाख दिइनेछ।

स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकले समेत रु पाँच लाख प्राप्त गर्ने छन्।

यस्तै रजत पदक जित्नेलाई जनही रु छ लाख तथा कास्य जित्नेलाई जनही रु तीन लाख पुरस्कारको प्रधानमन्त्री ओलीले घोषणा गरेका छन्।

यसअघि सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही रु पाँच लाख, रजत जित्नेलाई जनही रु तीन लाख तथा कास्य जित्नेलाई जनही रु दुई लाख पुरस्कार प्रदान गरिँदै आएको थियो।

प्रकाशित मिति: : 2019-12-13 13:58:42

प्रतिकृया दिनुहोस्