क्यानडाका नेपालीको एउटै स्वर– ‘कालापानी हाम्रो हो’

एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिवी घिमिरे र उपाध्यक्ष विजय पौडेल ‘क्यानडा पोष्ट’बाट टोरन्टोस्थित भारतीय अधिकारीलाई ज्ञापनपत्र पठाउँदै ।

नेपाल र भारतवीचको सीमा विवाद कूटनीतिक संवादले मात्रै सुल्झिने जाने बुझेर पनि क्यानडाका नेपालीले एकैपल्ट दोहोर्याएका छन्, ‘कालापानी, लिम्पियाधुरा र लिपुलेक हाम्रो हो, भारतले जर्बजस्ती नक्सामा राख्न पाउँदैन।’

भारतको नेपाल मिच्ने ‘ठूल्दाई प्रवृत्ति’को सख्त विरोध गर्न बिहिवार एकै समयमा क्यानडाका तीन प्रमुख शहर टोरन्टो, अटोवा र भ्यान्कुभरमा विरोध प्रदर्शन गर्दै यहाँका नेपालीले मातृभूमि मिच्नेप्रति खबरदारी गरेका हुन्।

भारतले केही समयअघि प्रकाशन गरेको राजनैतिक नक्सामा नेपाली भूमि समेटेपछि जनस्तरबाट व्यापक विरोध भए पनि नेपाल सरकारले अपेक्षित कदम नचालिरहेको अवस्थामा क्यानडाका नेपालीले औंला ठड्याएका हुन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अगुवाईमा बिहिवार अपरान्ह ३ देखि ४ बजेसम्म टोरन्टो, अटोवा र भ्यान्कुभरमा भारतको मिचाहा प्रवृत्तिको विरोध गर्दै नेपाल सरकारलाई झक्झक्याउन प्रदर्शन गरिएको हो।

‘मिचिएको भूमि नेपाल सरकारले कूटनीतिक संवादबाट फिर्ता गराउनुपर्ने हो’ एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जिवी घिमिरेले भने, ‘तर, हप्तौं बित्दा पनि यथोचित पहल गरेको नदेखेपछि विदेशबाट हामी जुर्मुराएका हौं।’

मिचिएको भूमि नेपाल सरकारले कूटनीतिक संवादबाट फिर्ता गराउनुपर्ने हो ।तर, हप्तौं बित्दा पनि यथोचित पहल गरेको नदेखेपछि विदेशबाट हामी जुर्मुराएका हौं।
चिरञ्जिवी घिमिरे, अध्यक्ष- एनआरएनए क्यानडा

टोरन्टो क्षेत्रका नेपालीहरुले ब्लोर स्ट्रिटस्थित ‘कन्सुलर जनरल अफ इण्डिया’ को कार्यालय अघिल्तिर प्रदर्शन गरेका हुन्। ‘असमान सन्धि खारेज गर’, ‘सीमा मिच्न बन्द गर’, ‘कालापानी नेपालको हो’ जस्ता प्लेकार्ड बोकेका नेपाली टोरन्टो डाउनटाउनस्थित एक ठाउँ भेला भएर भारतविरोधी प्रदर्शन गर्न ब्लोर स्ट्रिट पुगेका थिए। प्रदर्शनमा एनआरएनए क्यानडाका पूर्वअध्यक्ष गोपिकृष्ण काफ्ले, वर्तमान उपाध्यक्ष विजय पौडेल, प्रवक्ता दिनेश खतिवडालगायत स्थानीय नेपाली डायस्पोराका अगुवाहरूको उल्लेख्य उपस्थिति थियो।

 

भारतले नेपालमा गरिरहेको सीमा अतिक्रमणबारे ध्यानाकर्षण गराउँदै ‘त्यसो नगर्न आग्रह गरिएको’ चिट्ठी भारतीय उच्चआयोगका पदाधिकारीले बुझन अस्विकार गरेपछि क्यानडा पोष्टबाट पठाइएको एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जिवी घिमिरेले बताए।

मातृभूमिको सीमा मिचिँदा चुप बस्न नसकेर विरोध प्रदर्शनमा निस्किएका हौं। यसलाई नेपाल सरकारले पनि दबावका रुपमा बुझेर भारतसँग कूटनीतिक संवाद गर्न अघि सर्नुपर्छ।
पिताम्बर भट्टराई, महासचिव- एनआरएनए क्यानडा

अटोवामा स्प्रिङफिल्ड रोडस्थित ‘हाइ कमिसन अफ इण्डिया’को कार्यालय परिसरमा भारतलाई खबरदारी गरिएका प्लेकार्ड बोकेर नेपालीहरुले प्रदर्शन गरेका हुन्।

मिचेको जमीन फिर्ता गर्नुपर्ने, अर्काको सार्वभौमिकतामाथि खेल्न नहुने र असल छिमेकीका रुपमा काम गर्न खबरदारी गर्दै प्रदर्शन गरिएको थियो।

उता, पश्चिमी क्यानडाको भ्यान्कुभरको होए स्ट्रिटमा भेला भएर नेपालीहरुले भारतको नेपाल मिच्ने प्रवृत्तिको विरोध गरेका हुन्। त्यहाँ एनआरएनए क्यानडाका शरद शेरचनको संयोजनमा प्रदर्शन गरिएको थियो।
‘मातृभूमिको सीमा मिचिँदा चुप बस्न नसकेर विरोध प्रदर्शनमा निस्किएका हौं’ प्रदर्शन समापनपछि एनआरएनए क्यानडाका महासचिव पिताम्बर भट्टराईले भने, ‘यसलाई नेपाल सरकारले पनि दबावका रुपमा बुझेर भारतसँग कूटनीतिक संवाद गर्न अघि सर्नुपर्छ।’

 

प्रकाशित मिति: : 2019-12-13 03:51:08

प्रतिकृया दिनुहोस्