ए डिभिजन लिगको मुख्य प्रायोजक कतार एयरवेज

तस्बिर: बिएल

सहिद स्मारक ए डिभिजन लिग फुटबलको मुख्य प्रायोजक कतार एयरवेज हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार कतार एयरवेजसँग मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर गरेको छ। एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एयरवेजका मोहम्मद इल इमानले सम्झौता पत्रमा हस्ताक्षरका हुन्।

एक वर्षको लागि १ करोड ७० लाख ९१ लाख ५० हजार (अमेरिकी डलर) रुपैयाँमा उक्त लिग सम्झौता भएको हो।

एन्फाले सबै ए डिभिजन क्लबलाई लिग तयारी खर्चवापत २० लाख रुपैयाँ दिने भएको छ। ५ जना उत्कृष्ट खेलाडीलाई यसवर्ष मोटरसाइकलको सट्टा नगद दिन लागिएको छ। उत्कृष्ट खेलाडीले अब जनही १ लाख ५० हजार रुपैयाँ पाउने एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए। प्रायोजकले उक्त रकम दुई किस्तामा उपलब्ध गराउने उनले जानकारी गराए। 

लिगका लागि क्लबले ४ जना विदेशी खेलाडी राख्न पाउनेछन्। जसमा एक जना दक्षिण एसियाली देशको हुनुपर्नेछ। चार जना विदेशी खेलाडी एकै पटक खेलाउन पाउने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए। क्लबले १८ देखि ४५ वर्षभित्रका खेलाडी मात्र दर्ता गराउने पाउनेछन् ।

ए डिभिजन लिग फुटबल शनिबारबाट सुरु हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लब (बीबीसी) बीचको खेलसँगै औपचारिक रुपमा ए डिभिजन लिगको सुरुवात हुनेछ।

फागुन ३ गते सकिने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन्। जसमा कुल ९१ खेल हुनेछ। हरेक राउण्डमा ७ खेल हुनेछ। शीर्ष टोलीले उपाधि जित्ने छन्।

यस्तै लिगमा एक मात्र टिम घटुवा हुनेछ। एन्फाले गत वर्ष आयोजना गरेको रेलिगेसनबिनाको लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो।

प्रकाशित मिति: : 2019-12-12 16:30:29

प्रतिकृया दिनुहोस्