गुद्री बजार खाली नगर्ने अडान राख्दै व्यापारीहरु आन्दोलित

गुद्री बजार खाली गराउने महानगरापालिकाको निर्णय विरुछ प्रदर्शन गर्दै विराटनगरको गुद्री बजारका व्यापारीहरु। तस्बिर: बिएल

विराटनगर महानगरपालिका–९ स्थित ‘इ‘ प्लटमा सञ्चालनमा रहेको गुद्री बजार खाली नगर्ने अडान राख्दै व्यापारीहरु आन्दोलित बनेका छन्।

बजार खाली गराउन महानगरले सूचना जारी गरेरै अल्टिमेटम दिएपछि व्यापारीहरु त्यसका विरुद्ध उत्रिएका हुन्। महानगरले मंसिर ५ गते गुद्री बजार खाली गराउन सूचना सार्वजनिक गरेको थियो। थोक तथा खुद्रा व्यापारीले गुद्री बजारबाट ३१ वर्षदेखि तरकारी, फलफूल, माछा, मासु बिक्री गर्दै आएका छन्।

महानगरपालिका छाडेर आफूहरु गाउँपालिकामा स्थानान्तरण हुन नसक्ने भन्दै व्यापारीले केही दिन अघि महानगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका थिए। बुधबार भने विराटनगरमा महानगरपालिका विरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् । विरोध ¥यालीमा जनप्रतिनिधिसहित र व्यापारीको उल्लेख्य सहभागिता थियो।

महानगरपालिकाले मोरङको कटहरी गाउँपालिका–१ मा निर्माण भएको फलफूल तथा तरकारी थोक बजारमा गुद्री बजार सार्ने तयारी गरेर त्यही अनुसारको सूचना सार्वजनिक गरेको छ। व्यापारीहरु भने महानगर छाडेर गाउँपालिकामा नजाने भन्दै विभिन्न ६ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । गुद्री बजार सञ्चालनका लागि पायक पर्ने स्थानमा जग्गा उपलब्ध गराउनु पर्ने, महानगरभित्रै गुद्री व्यापारका लागि भवन बनाएर व्यापारीहरुलाई समेत सहभागिता गराउनु पर्ने लगायतका माग व्यापारीको छ।

गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतले कटहरीमा फलफूल तथा तरकारी बजार बनाउँदैदेखि व्यापारीले विरोध गरेको बताए। ‘सुरुमै हामीले विरोध गरेर महानगर भित्रको गुद्री बजार गाउँपालिकामा लैजान हुँदैन भनेका थियौं,’ उनले भने, ‘ग्राहाकलाई असहज हुने भएकाले हाम्रो असहमति विना बनाइएको बजारमा सर्दैनौं।’ भगतले सिंघीया खोला किनारमा बनेको बजारमा तरकारी बोक्ने ट्रक समेत लैजाने बाटो नभएको बताए।

महानगरपालिकाले बल प्रयोग गरेर खाली गराउन खोजे नीजि जग्गा खोजेर गुद्री बजार सञ्चालन गर्ने चेतावनी उनले दिए। महानगरपालिकाले पुरानो गुद्री बजारलाई व्यवस्थित गर्नु पर्नेमा बजारनै विस्थापित गर्न खोजेको भगतको भनाइ छ।

गुद्री बजार व्यवस्थापन समितिका सहसंयोजक मालबाबु सहनीले प्रदेश १ को राजधानीमा रहेको बजारलाई महानगरपालिकाले विस्थापित गर्न खोजेपछि आन्दोलित बन्नु परेको बताए। विश्व बैंकको सहयोगमा कटहरी गाउँपालिका १ मा ५ बिगाहा २ धुर क्षेत्रफलमा अत्याधुनिक फलफूल तथा तरकारी थोक बजार निर्माण भएको छ।

१५ करोड ४९ लाख रुपैयाँमा निर्माण भएको यो बजारलाई संघीय सरकारले प्रदेश १ सरकारलाई बुझाएपछि कार्यविधि बनाएर गुद्री बजार सार्न खोजिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताए। अव्यवस्थित रुपमा सञ्चालनमा रहेको तरकारी बजारलाई व्यवस्थित बनाउने उदेश्यले एकीकृत तरकारी तथा फलफूल बजार निर्माण गरिएपछि उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

बजारमा थोक बिक्री कक्ष ३८, कृषक बिक्री सेड १, खुद्रा स्टल एक, ३० वटा स्टल कम्तिमा, प्रशासकीय भवन एक, बैंक शाखा, चमेना गृह, सार्वजनिक शौचालय, मेनजेर आवास, कृषक अतिथि गृह, गार्ड आवास, फोहोर संकलन केन्द्र, लोडिङ अनलोडिङ क्षेत्र, डिप ट्युबेल, पानी प्रशोधन केन्द्र तथा पार्किङ क्षेत्रको सुविधा छ।

बजारमा किसानहरूले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने व्यवस्था गरिएको छ। किसानहरूका लागि १ सय ३८ स्क्वायर मिटरमा खुद्रा पसल राख्ने व्यवस्था मिलाइएको छ। बजार निगरानीका लागि सीसी क्यामेरा समेत जडान गरिने छ। ४४ हजार ९ सय ६६ मेट्रिकटन तरकारी र ८ हजार ७ सय ३ मेट्रिकटन फलफूल बिक्री गर्न सकिने बजारको क्षमता छ।

प्रकाशित मिति: : 2019-12-12 15:25:39

प्रतिकृया दिनुहोस्