अब हाम्रो लक्ष्य २०२२ को साफ च्याम्पियनसिपः एन्फा अध्यक्ष कर्माछिरिङ

तस्बिरः बिएल नेपाली सेवा

नेपालले आफ्ना चार स्टार खेलाडीलाई अनुशासनको कारवाही गरेको अवस्थामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पैतिस वर्षपछि पुरुष फुटबलतर्फ स्वर्ण पदक आफ्नै घरेलु मैदानमा जितेको छ।

विमल घर्तिमगर,अन्जन बिष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ जस्ता प्लेइङ सेटका खेलाडी डिस्कोमा भेटिएपछि अखिल नेपाल फुटबल (एन्फा) ले अनुशासनको कारवाही गरेको थियो र उनीहरू यसै कारण आफ्नै देशमा आयोजना भएको तेहौं साग गेम्स खेल्नबाट बन्चित भए।

यस्तो अवस्थामा नेपालले पैतिस वर्षपछि घरेलु मैदानमा फुटबलतर्फ स्वर्ण पदक भित्र्याउनु चानचुने कुरा पक्कै थिएन। नेपालको जितमा खेलाडीको लगनशीलता र पशिक्षकको मिहिनेत महत्वपुर्ण भएको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बिएल नेपाली सेवालाई बताएका छन्।

उनले पछिल्लो समय योजनाबद्ध काम भएको र त्यसको प्रतिफल देखिन थालेको बताए। ‘यद्यपि यो पर्याप्त छैन। तर, हामीले विभिन्न कमिटी बनाएर व्यवस्थित र नियमबद्ध रुपमा काम गरिरहेका छौं,’ उनले भने।

नेपालका ४ स्टार खेलाडीलाई कारवाही गर्नुपनि यसैको कडी भएको उनको भनाई थियो। उनले खेलाडी मात्र होइन, खेल पदाधिकारी र प्रशिक्षक पनि अनुशासनमा बस्नु पर्ने बताए। ‘खेलकुदमा अनुशासन अनिवार्य सर्त हो। त्यसैले खेलाडी मात्र होइन। पदाधिकारी पनि अनुशासनमा बस्नु पर्छ,’ उनले भने।

उनले २०२२ मा आयोजना हुने साफ च्याम्पियनसिपमा पनि स्वर्ण जित्ने लक्ष्यका साथ भोलीदेखि नै तयारी सुरु गर्ने बताए।

हेर्नुहोस् भिडियो कुराकानी

प्रकाशित मिति: : 2019-12-11 12:14:20

प्रतिकृया दिनुहोस्