दोलखाका प्रजिअ रिजाल निलम्बित

निलम्बित प्रजिअ खगेन्द्रप्रसाद अधिकारी

अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल निलम्बित भएका छन्।

दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उपसचिव खगेन्द्रप्रसाद रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको आरोपमा अनुसन्धान भइरहेको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मंगलबारको सिफारिसअनुसार गृह मन्त्रालयले निलम्बन गरेको हो।

रिजालले मेलुङ गाउँपालिका–४, भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग बुधबार २१ हजार रुपैयाँ असुलेको आरोप लागेको थियो। रकम लिएर मुद्दा नचलाउने निर्णय गरेको अभियुक्तको दाबी सार्वजनिक भएपछि आयोगले छानविन थालेको प्रवक्ता प्रदीपकुमार कोइरालाले रिजालले जानकारी दिए।

उनले भने, ‘रिजालले भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेको अवस्थामा निज पदमा बहाल रहिरहँदा आफ्नोविरुद्धको प्रमाण लोप तथा नष्ट गर्ने वा अनुसन्धान र तहकिकातमा बाधा व्यवधान पुग्न सक्ने भएकाले उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उफदफा (३) बमोजिम निलम्बन गर्नका लागि गृह मन्त्रालय सिंहदरवारमा लेखी पठाइएको छ।’

प्रकाशित मिति: : 2019-12-10 16:25:58

प्रतिकृया दिनुहोस्