१३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्ने भएका छन्।
मंगलबार दशरथ रंगशालामा हुने समापन समारोहलाई अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै उनले भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकूद परिषद् (राखेप) तथा १३औँ दक्षिण एशियाली खेलकूद (साग) मूल आयोजक कमिटीका सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए।
प्रधानमन्त्री ओलीले नेपाली र अंग्रेजी भाषामा १ घण्टा ३० मिनेट सम्बोधन गर्ने सदस्य सचिव रमेश सिलवालले जानकारी दिए।
सिलवालका अनुसार प्रधानमन्त्रीले बुधबार खेलाडीको नाममा सम्बोधन गर्दै विशेष प्याकेज घोषणा गर्नेछन्। ‘प्रधानमन्त्रीले बुधबार खेलकूदलाई मात्र समेटेर राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी रहेको छ। खेलाडीका लागि अहिलेसम्मकै ठूलो प्याकेज घोषणा हुनेछ’, उनले भने। पदकधारी खेलाडीलाई दिइने पुरस्कार तथा अन्य सुविधाबारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको सिलवालको भनाइ छ।
समापन समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र सदस्य सचिव सिलवालले समापन समारोहमा सम्बोधन गर्नेछन्।
समापन कार्यक्रम अघि नेपाल र भुटानबीच पुरुष फुटबल प्रतियोगिता हुनेछ। फुटबलमा भुटानका समर्थकहरुको लागि दक्षिण तर्फको प्याराफिटमा छुट्टै स्थान दिइनेछ।
समापन कार्यक्रम अन्तर्गत १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण खेल हुनेछ। फुटबलको फाइनल खेलको समापन सँगै प्रतियोगिताको समापन कार्यक्रम सुरु हुनेछ भने साथै समापन कार्यक्रम १ घन्टाको हुने बताइएको छ।