आर्चरीमा बंगालदेशलाई १० वटा स्वर्ण, नेपाललाई एक रजत सहित ३ पदक

तस्बिर: बिएल

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा सोमबार सम्पन्न आर्चरी खेलमा बंगलादेशले सबै १० वटा स्वर्ण पदक हात पार्न सफल भएको छ।

पोखरा रंगशालाको आर्चरी खेल मैदानमा भएको खेलमा बंगलादेशले आर्चरी तर्फ एकल तथा टिम इभेण्टमा स्वर्ण पदक जितेको हो।

सोमबार रिकर्भको महिला तथा पुरुष इभेन्ट र कम्पाउण्डको महिला तथा पुरुष इभेन्टमा पनि बंगलादेशले स्वर्ण पदक जितेको छ । रिकर्भ पुरुषतर्फ बंगलादेशका विश्व वरियताको १० भित्र पर्ने एमआर सानाले भुटानका छिरिङ केन्लीलाई पराजित गरे। महिलातर्फ बंगलादेशकी १४ बर्षकी खेलाडी आतुन एमएसटी इटिवाईले भुटानकी डिमा सोनामलाई पराजित गरिन्।

रिकर्भको पुरुषमा श्रीलंकाका डिई शिल्भा एमएसले भुटानका स्लामा मोहमदलाई पराजित गर्दै कास्य पदक जित्दा सोही इभेण्टको महिलातर्फ बंगलादेशकी मोनिरा मोहानाजले भुटानकी कर्मालाई पराजित गर्दै कास्य पदक जितेकी हुन्।

त्यसैगरी कम्पाउण्ड एकल पुरुषतर्फ बंगलादेशका राना एमडी सोहिलले स्वर्ण पदक जिते। यसमा कास्यपदक पनि बंगलादेशका दास असिम कुमारले जिते। सोही इभेन्टको महिलातर्फ बंगलादेशकी विश्वास सुमाले श्रीलंकाकी करुणारेन्टी अनुराधालाई पराजित गर्दै स्वर्ण पदक जितिन्। श्रीलंकाकी दमयन्तीले बंगलादशेकी बनिक सुस्मितालाई पराजित गर्दै कास्य पदक जितेकी हुन्।

बंगलादेशले कम्पाउण्ड महिला तथा पुरुष, रिकर्भ महिला तथा पुरुष र रिकर्भ मिक्सतर्फ स्वर्ण पदक हात पार्न सफल भएको हो।

आर्चरीमा नेपालले एक रजत, २ कास्यसहित तीन पदक प्राप्त गर्न सफल भएको छ। नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स तर्फ रजत पदक प्राप्त गरेको हो। नेपालसहित ४ देश सहभागि भएको खेलमा अन्तिम समयमा पाकिस्तान पनि सहभागी भए।

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका सांसदहरु मोहन रेग्मी, दीपक कोइराला, राखेप सदस्य राजेशकुमार गुरुङ, नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङलगायतले पुरस्कार वितरण गरे।

प्रकाशित मिति: : 2019-12-09 14:41:43

प्रतिकृया दिनुहोस्