इंग्लिस प्रिमियर लिगः लेस्टरले लिभरपुलसँगको अंक दूरी ८ मा झार्‍यो

तस्बिर:एजेन्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले अर्काे जित दर्ता गरेको छ।

आइतबारको खेलमा एस्टोन भिल्ला माथि ४–१ गोल अन्तरको जित दर्ता गरेको हो।

लेस्टरको जितमा जिमी भर्डिले २ तथा किलिचि इनाचो र जोनाथन इभान्सले एक एक गोल गरे। भिल्लाका लागि ज्याक ग्रिलिसले एक गोल फर्काएका थिए।

२० औं मिनेटमा भर्डिले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए। ४१ औं मिनेटमा किलिचिले गोल गर्दै अग्रता दोब्बर बनाए।

यस्तै पहिलो हाफको अतिरिक्त समयमा भिल्लाका लागि ज्याक ग्रिलिसले गोल गर्दै अग्रता २–१ मा झारेका थिए। लेस्टरले दोस्रो हाफमा थप २ गोल गरेको थियो ।

उसका लागि जोनाथन इभान्सले ४९ औं मिनेटमा गोल गर्दै लेस्टरको अग्रता ३–१ मा पुर्‍याए। ७५ औं मिनेटमा भर्डिले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे।

जितसँगै लेस्टरले शीर्ष स्थानको लिभरपुलसँग अंक दूरी ८ मा झारेको छ। ४६ अंकका साथ शीर्ष स्थानमा लिभरपुल रहेको छ भने लेस्टरको ३८ अंक छ। पराजित भएको एस्टोन भिल्ला १५ अंकसहित १७ औं स्थानमा छ।

न्यू क्यासल युनाइटेडको जित

यस्तै आइतबार राति नै भएको अर्को खेलमा न्यू क्यासल युनाइटेडले साउथ ह्याम्प्टनमाथि २–१ गोलको जित दर्ता गरेको छ। जितसँगै क्यासल २२ अंकका साथ १० औं स्थानमा छ भने पराजित भएको साउथ ह्याम्पटन १५ अंकका साथ रेलिगेशन जोनमा छ।

सेफिल्ड युनाइटेड विजयी

सेफिल्ड युनाइटेडले नर्विच सिटीलाई २–१ गोलले पराजित गर्‍यो। एलेक्जेन्डर टिटेले गोल गर्दै नर्विचले २७ औं मिनेटमा अग्रता भने लिएको थियो। पहिलो हाफमा लिएको अग्रता नर्विचले दोस्रो हाफमा जोगाउन सकेन।

जितसँगै सेफिल्ड २२ अंकका साथ आठौं स्थानमा छ भने पराजित भएको नर्विच रेलिगेशन जोनमा छ।

प्रकाशित मिति: : 2019-12-09 09:02:44

प्रतिकृया दिनुहोस्