फाइनल खेलमा गल्ती कम गर्छाैं- नेपाली प्रशिक्षक

फाइल तस्बिर: बिएल

 १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको महिला फुटबलमा आयोजक नेपाल चीरपरिचित प्रतिष्पर्धी भारतसँग आज (सोमबार) भिड्दैछन्।

पोखरा रङ्गशालाको फुटबल मैदानमा स्वर्ण पदकका लागि हुने खेल दिउँसो २ बजे सुरु हुनेछ।राउण्ड रोबिन लिगका आधारमा शीर्ष दुई टिम फाईनल चरण प्रवेश गरेका हुन्।

समूह चरणका तीन खेल जितेको भारत नौ अङ्कसहित समूह विजेता बनेर फाइनलमा पुगेको हो। यता नेपाल दुई खेलमा जित र एकमा हारसँगै छ अङ्कका साथ समूह उपविजेता बनेर फाइनलमा पुगेको हो।

दक्षिण एसियाली महिला फुटबलमा भारत सधै नेपालको बाधक बन्दै आएको छ।

लिग चरणको खेलमा समेत भारतले नेपाललाई १–० ले हराएको थियो। भारतको जितमा खेलको पहिलो हाफको १८औँ मिनेटमा एनजी बाला देवीले गरेको एक मात्र गोल निर्णायक बनेको थियो।

खेलमा फर्कन कडा मेहनत गरेको नेपालले बराबरीका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेको थिएन्।फाइनल खेलमा नेपाल सोही कमजोरी सुधार गर्दै स्वर्ण जित्ने दाउमा छ।

नेपाल सागको महिला फुटबलमा सधै रजत पदकमा सिमित हुँदै आएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले फाइनल खेलमा गल्ती कम गर्दै स्वर्णका लागि खेल्ने बताएका छन्।

भारतीय टोलीका प्रशिक्षक मेयामोल रकीले आफू आफ्नो टिमसँग सन्तुष्ट रहेको बताउँदै खेल अत्यन्त प्रतिष्पर्धापूर्ण हुने बताएका छन्।

यही मङ्सिर १७ गतेदेखि शुरु भएको महिला फुटबल प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स र श्रीलङ्काले सहभागिता जनाएका थिए।

प्रकाशित मिति: : 2019-12-09 08:03:05

प्रतिकृया दिनुहोस्