भारोत्तोलनमा नेपाललाई थप १ रजत र कास्य

तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को भारोत्तोलनमा नेपालले थप १ रजत र १ कास्य जितेको छ।

आइतबार सागर भण्डारीले पुरुष १०९ केजी तौल समूहमा नयाँ राष्ट्रिय कीर्तिमानसहित रजत जिते । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १५५ गरी कुल २७५ तौल उठाए। यसअघि सागको छनोट चरणमा आफ्नो नाममा तीनै विधाको रेकर्ड १३ औं सागमा उनले भंग गरे।

यो विधामा पाकिस्तानी खेलाडी हन्जाला दस्तगीर वुटले स्वर्ण जिते। उनले स्न्याचतर्फ १५० र क्लीन एण्ड जर्कमा १८१ सहित कुल ३३१ किलो भार बहन गरेका हुन्।

प्रतियोगितामा बंगलादेशका खेलाडी मोहम्मद अब्दुल्लाह अई मुमिनले कास्यमा चित्त बुझाए। उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १४७ सहित कुल २६७ तौल उठाएका हुन् ।

आइतबार नै भएको १०९ प्लस तौल समूहमा पाकिस्तानकै मोहम्मद नुह दस्तगीर वुटले स्वर्ण जिते। उनले स्न्याचमा १६५ र क्लीन एण्ड जर्कमा २१५ गरी कुल ३८० तौल उठाएका हुन् । सो तौल जारी संस्करणको सर्वाधिक भार बहन हो।

यस्तै, श्रीलंकाली खेलाडी डब्लु पी यु चरुकाले रजत जिते। उनले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १८० गरी कुल ३२० भार बहन गरे। नेपालका पुकार गुरुङले कुल २७५ तौल उठाए। उनले स्न्याचतर्फ १३२ र क्लीन एण्ड जर्कमा १४३ भार बहन गरे। नेपालका लागि रजत र कास्य जित्ने दुवै खेलाडीले समान २७५ तौल उठाएका हुन् । पुकारको पनि स्न्याच विधामा राष्टिय कीर्तिमान हो।

२० स्वर्णसहित कुल ६० पदकको लागि महिला तथा पुरुषतर्फ दश/दश वटा तौल समूहको खेलमा नेपालले कुल १६ विधामा भाग लिएको थियो ।

रोत्तोलनबाट नेपालले २ स्वर्ण, ३ रजत र ११ कास्य पदक जितेको छ।

प्रकाशित मिति: : 2019-12-08 15:21:29

प्रतिकृया दिनुहोस्