भुटानलाई ऐतिहासिक सफलता, पहिलो पटक फाइनलमा

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा भुटान प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा श्रीलंकालाई ३–० ले पराजित गर्दै भुटान फाइनलमा प्रबेश गरेको हो। भुटानको् जितमा छिमी दोर्जी,दावा छिरिङ र एशि दोर्जीले एक एक गोल गरे।

९ औं मिनेटमा दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० को अग्रता लिएको भुटानले दोस्रो हाफमा थप दुई गोल गर्यो।

६९ औं मिनेटमा छिरिङले पेनाल्टीमा गोल गर्दै भुटानलाई २–० को अग्रता दिलाए। त्यस्तै ८० औं मिनेटमा दोर्जीले गोल गर्दै भुटानलाई ३–० को जित दिलाए।

जितसँगै भुटानले ४ खेलमा ९ अंक जोडेको छ। र, शीर्ष स्थानमा उक्लिएको छ। भुटान पहिलो पटक साग फुटबलको फाइनलमा प्रवेश गरेको छ । यस अघि समूह चरणबाटै बाहिरिदै आएको भुटानको यो ऐतिहासिक सफलता हो।

अब भुटानले स्वर्ण पदकको लागि नेपाल र बंगलादेशमध्ये एक टिमसँग खेल्नेछ।

आइतबार हुने बंगलादेश र नेपालबीचको खेलले फाइनल पुग्ने टोलीको तय हुनेछ। नेपाललाई फाइनल पुग्न कम्तिमा बराबरी खेल्नु पर्ने हुन्छ। पराजित भए नेपालको फाइनल सम्भावना सकिनेछ।

दोस्रो स्थानमा रहेको नेपालको ७ अंक रहेको छ। बंगलादेशको ४ अंक रहेको छ।

प्रकाशित मिति: : 2019-12-07 19:50:14

प्रतिकृया दिनुहोस्