रविना थापा फेन्सिङमा ऐतिहासिक स्वर्ण जित्नबाट चुकिन्

तस्बिर: बिएल

नेपालकी रविना थापा फेन्सिङमा ऐतिहासिक स्वर्ण जित्नबाट चुकेकी छन्। फेन्सिङको महिलाको व्यक्तिगत स्पर्धाअन्तर्गत साबरको फाइनलमा बंगलादेशकी मुजिब फतिमासँग १५–१० ले पराजित भएपछि रविनाले रजतमै चित्त बुझाइन्।

उनले सेमिफाइनलमा नेपालकै अस्मिता बस्नेतलाई पराजित गर्दै उपाधि नजिक पुगेकी थिइन्। अस्मितासँगै भारतकी डायनादेवी थिङ्गुजामले कांस्यमा चित्त बुझाए।

महिला इपीमा भने नेपाली खेलाडी सेमिफाइनलमै स्तब्ध बने। नेपालका जानुका स्याङ्तान र इन्दिरा पौडेल सेमिफाइनलमा भारतीय खेलाडीसँग पराजित भएपछि कांस्यमै चित्त बुझाउन बाध्य भए। यस स्पर्धामा भारतकी कवितादेवी थाउदामले स्वर्ण र शितल दलालले रजत जिते।

पुरुषको व्यक्तिगत फ्वेलतर्फ भने भारतीय खेलाडीले दबदबा कायम राखे। भारतका विनोथकुमार भेलाउथामले स्वर्ण, राजेश्वर सिंहले रजत जिते। यस्तै श्रीलंकाका थारिदु मधुमल कन्दना र बंगलादेशका रुबेल मियाले कांस्य जिते।

फेन्सिङमा आइतबारदेखि टिम इभेन्टका प्रतिस्पर्धा सुरु हुनेछ फेन्सिङमा अहिलेसम्म भारतले पाँच र बंगलादेशले एक स्वर्ण जितेको छ।

प्रकाशित मिति: : 2019-12-07 17:12:40

प्रतिकृया दिनुहोस्