माल्दिभ्सविरुद्ध नेपालको 'कमब्याक' जित

फाइल तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध कमब्याक जित हात पारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा ०–१ ले पछि परेको स्थितिमा कमब्याक जित निालेको हो। नेपालले जित निकाल्ने क्रममा माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्‍यो।

नेपालको जितमा अभिषेक रिजाल र अनन्त तामाङले एक एक गोल गरे। यस्तै इब्राहिम महुदिन हुसेनले माल्दिभ्सका लागि एक गोल फर्काए।

खेलको १७ औं मिनेटमा नै माल्दिभ्सले अग्रता लिएको थियो। नेपालका डिफेन्डरको गल्तिको मौका उठाउँदै हुसेनले माल्दिभ्सका लागि अग्रता दिलाएका थिए।

तर खेलको ४२ औं मिनेटमा नेपालले खेल बरारीमा ल्यायो। नेपालका लागि अभिषेकले खेलको ४३ औं मिनेटमा बराबरी गोल फर्काए। अभिषेकले डिबक्स बाहिरबाट उत्कृष्ट भली गोल गरेका हुन्।

पहिलो हाफ १–१ को बराबरी खेलेको नेपालले दोस्रो हाफको ५२ औं मिनेटमा पुनः अग्रता लियो। नेपालका लागि अनन्तले कर्नर बलमा हेड गोल गर्दै नेपाललाई २-१ को जित दिलाए।

जितसँगै नेपालले ३ खेलमा ७ अंक जोडेको छ। र, नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ। माल्दिभ्सको भने स्वर्ण सम्भावना सकिएको छ।

राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिमले स्वर्ण पदकका लागि खेल्नेछ।

 

प्रकाशित मिति: : 2019-12-07 15:27:08

प्रतिकृया दिनुहोस्