पारसको उत्कृष्ट बलिङमा बंगलादेशद्वारा नेपाललाई मध्यम लक्ष्य

फाइल तस्बिर: बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल अहिले बंगलादेशको सामना गर्दैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको बंगलादेश यू–२३ टोलीले निर्धारित २० ओभरमा  ६ विकेट गुमाएर १ सय ५५ रन बनायो। १५७ रनको लक्ष्य पाइको नेपाल केही समयपछि ब्याटिङमा उत्रिनेछ।

बंगलादेशका लागि कप्तान नाजमुल होसेन सान्तोले ६० बलमा ४ छक्का र ४ चौकाको मद्दतमा अविजित ७५ रन बनाए। यस्तै आफिफ होसेनले ५२ रन बनाए।

नेपालका पारस खड्काले ३ विकेट हात पारे। यस्तै दिपेन्द्र सिंह ऐरीले २ तथा अविनास बोहराले १ विकेट लिए।

नेपालको लागि शीर्ष दुईमा रहँदै फाइनल पुग्न शनिबार बंगलादेशविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ।

यसअघि बंगलादेशमै भएको इमर्जिङ टिम्स कपमा नेपाल बंगलादेशसँग पराजित भएको थियो। सागको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध १७२ रनको स्कोर बनाए पनि फिल्डिङ गल्ती गर्नुका साथै ४ क्याच छाडेपछि हार बेहोर्नुपरेको थियो।

त्यसपछि कमजोर दुई टिमविरुद्ध जित हात पारे पनि नेपालको असली परीक्षा बंगलादेशसँग हुनेछ।

पाँच राष्ट्र सहभागी राउण्ड रोविन लिगमा श्रीलंका लगातार तीन खेल जित्दै ६ अंकका साथ अंक तालिकामा शीर्ष स्थानमा छ। बंगलादेशको २ खेलबाट ४ अंक छ। दुवै टिम अपराजित छन्। माल्दिभ्स र भुटानले समान ३ खेल खेलिसकेका छन् भने सबैमा हार बेहोरेका छन। शनिबारै भुटान र माल्दिभ्सबीच पनि खेल हुनेछ।

त्यसभन्दा अघि नै बिहान ९ बजे कीर्तिपरस्थित टीयू मैदानमा नेपालले बंगलादेश यू २३ सँग खेल्नेछ।

प्रकाशित मिति: : 2019-12-07 11:22:01

प्रतिकृया दिनुहोस्