०२६ मा धान चुट्दै गर्दा दाहिने आँखामा एउटा दाना पस्यो, आँखा फुलो परेपछि नाति महर्जनलाई जीवन बर्बाद भएजस्तो लाग्यो । १४ वर्षको उमेरमै यो पीडा व्यहोरेका उनले यसपछि जीवनमा धेरै प्रजातिका बिरुवा रोपे, गोडमेल गरे अनि देब्रे आँखाले फूलको सुन्दरता नियाले । ६४ वर्षको उमेरसम्म आइपुग्दा नातिको जीवन धेरै अविस्मरणीय क्षणको साक्षी बन्यो, त्यसैले उनी सदैव सकारात्मक र ऊर्जावान् रहे । गत बुधबार ललितपुरको सातदोबाटोमा ६४ वर्षीय नातिको ऊर्जा हेर्नलायक थियो । साग खेलकुदअन्तर्गत करातेको ६८ केजी तौल–समूहमा छोरी सुनीता महर्जनले स्वर्ण जितेपछि बाबुलाई अँगालो हालिन्, दुवैका आँखा एकाएक रसाए ।
सुनीताको सफलताभित्र अर्काको जग्गामा पसिना बगाएर मुरी फलाउने काठमाडौंको स्थानीय परिश्रमी महर्जन परिवारको दशकौँ लामो संघर्षको कथा छ । ‘सानोबाबु (गिरिजाप्रसाद) मेरो भगवान् हुनुहुन्छ । उहाँलाई क्याक्टस, सुनगाभा, गोदाबरी, सुगन्धवालालगायत फूल निकै मनपथ्र्यो,’ कानमा गोदावरी सिउरिएका नातिले भने, ‘उहाँले मृत्युको मुखबाट बचाउनुभयो ।’
०५० देखि नातिकाजीले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको महाराजगन्जस्थित निवासमा काम गरेका थिए । साँझ गिरिजाप्रसाद एकान्तमा बस्न रुचाउँथे, एक दिन उनको नजर फूल गोडिरहेका नातिकाजीको फुलो परेको आँखामा पर्यो । ‘ए माली यता आइज । शशांकलाई भनेर तेरो उपचार गर्नू,’ गिरिजाप्रसादको भनाइ स्मरण गर्दै नातिकाजीले भने, ‘भोलिपल्ट शशांक कोइरालाले मलाई अस्पताल लग्नुभयो । क्यान्सर भइसकेको रहेछ । तिमीले चिन्ता गर्नुपर्दैन उपचारको सबै खर्च म मिलाउँछु भन्नुभयो ।’