मनमोहन स्मृति पोलिटेक्निकद्धारा सम्पत्ति तथा दायित्व प्रदेश सरकारलाई हस्तान्तरण

तस्बिर: बिएल

मनमोहन स्मृति पोलिटेक्निकले सम्पत्ति तथा दायित्व प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।

मोरङको बूढीगंगा गाँउपालिका ४ हात्तिमुडामा मनमोहन स्मृति प्रतिष्ठानद्धारा सञ्चालित मनमोहन स्मृति पोलिटेक्निकको सम्पत्ति तथा दायित्व प्रदेश १ सरकारलाई हस्तान्तरण गरिएको हो। मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ।

पोलिटेक्निकमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई करिव २ अर्ब १ करोड बढीको सम्पति मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरे। पोलिटेक्निकका अध्यक्ष पोखरेल, विश्वविद्यालयका कुलपति समेत रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र समाजिक विकास मन्त्री एवं सहकुलपति घिमिरेले सम्पत्ति र दायित्व हस्तान्तरण दस्तावेजमा हस्ताक्षर गरेका छन्।

मनमोहन स्मृति प्रतिष्ठानको स्वामित्वमा रहेको २० विगाहा जग्गा र ३१ वटा भवन र विभिन्न उपकरणहरु हस्तान्तरण गरिएको पोलिटेक्निकका प्राचार्य सुवास श्री पोखरेलले बताए। कार्यक्रममा सामाजिक विकास मन्त्री घिमिरेले नेपालै पहिलो पटक प्रदेश सरकारले विश्वविद्यालय निर्माण गरेको बताए। उनले नेपालमा रहेका अन्य विश्वविद्यालयको तुलनामा मनमोहन प्राविधिक विश्वविद्यालय पृथक भएको बताए।

उनले प्राविधिक जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विश्वविद्यालयलाई विकास गर्ने सरकारको योजना रहेको बताए। उनले विश्वविद्यालयले एक वर्ष भित्रमा पठन पाठन सुरु गर्ने बताए। उनले प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय स्थापना गरे पनि प्रदेश भित्र मात्र सीमित नरहने बताए। घिमिरेले भने, ‘अन्य विश्वविद्यालय जस्तै यो पनि विश्वव्यापी रुपमा रहने छ।’

विश्वविद्यालयका कुलपति तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रतिकुलताकाबीच मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धि विधेयक पास गरेर मात्र मुर्तरुप दिन सकिएको स्मरण गरे। उनले यसलाई नमुना विश्वविद्यालय बनाइने उद्घोष गरे। ‘यो नेपालकै पहिलो प्राविधिक विश्वविद्यालय हो। मुलुकका सातवटा प्रदेश मध्ये अहिलेसम्म कुनै पनि प्रदेशमा यो विश्वविद्यालय छैन,’ उनले भने।

पोलिटेक्निका अध्यक्ष तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल सरकारले हरेक प्रदेशमा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको बताए। उनले अबको शिक्षा ७० प्रतिशत प्राविधिक र व्यवसायिक हुनु पर्नेमा जोड दिए। मन्त्री पोखरेलले मनमोहन प्राविधिक विश्वविद्यालयले प्रदेश १ का १४ वटै जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी विश्वविद्यालयका कार्यक्रमलाई फैलाउने बताए।

उनले मनमोहन पोलिटेक्निकले विगतदेखिनै शिक्षा र प्राविधिक विषय अध्ययन क्षेत्रमा विशिष्ट भूमिका खेलकै कारण तीन पटकसम्म राष्ट्रिय सम्मान हाँसिल गर्न सफल भएको जानकारी दिए। प्रदेश सभाले मनमोहन प्राविधि विश्वविद्यालय सम्बन्धी विधेयक गत असोज ६ गते संसदबाट पारित गरेको थियो। विधेयकलाई असोज १६ गते तत्कालिन प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्वाहाङले प्रमाणिकरण गरेका थिए।

प्रकाशित मिति: : 2019-12-06 21:55:43

प्रतिकृया दिनुहोस्