‘विन्ति काखको बच्चा पाल्ने जोहो गरिदिनुस्’ (भिडियोसहित)


२०७४ सालमा यो जोडीले जेनतेन बैकबाट ऋण गरेर आफ्नै गाडी किन्यो। फागुन १४ मा गाडी निस्कियो तर दूर्भाग्य त्यही वर्ष चैत्र ५ मा दुर्घटनामा परेर सिताराम बिते।

रुपा शर्मा नेहा–काठमाडौं

उही पुरानो शैली। महिलाका पीडा ज्यूँका त्यूँहु। नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने महिला हिंसाविरूद्धको १६ दिने अभियानमा सहभागी हुन म यसै साता भृकुटीमण्डपबाट अगाडि बढ्दै थिए। ‘महिला समानताको पुस्ता, बलात्कारविरूद्ध ऐक्यवद्धता’ भन्ने नारालाई गुञ्जयमान बनाउँदै ठूलाठूला ब्यानर बोकेर सरकार तथा अधिकारकर्मी चिच्चाउँदै शहर परिक्रमा गरिरहेका थिए।

आँखै अगाडि आफ्नो जीवनको पाइला–पाइलाको भोगाई नाच्न थाल्यो। सधै यस्ता ¥यालीमा भाग लिने मलाई किन हो? एक्कासी सहभागी हुन मन लागेन। ¥यालीलाई चिर्दै स्कुटर अगाडि हुईक्याए। अनेकौं हिंसा सहेर आफू जस्तै हिंसा पीडितलाई आर्थिक सशक्तिकरणका लागि निःशुल्क ड्राइभिङ सिकाइरहेकी मिना चन्द ठकुरीको कार्यालय अगाडि पुगेर मेरो स्कुटर टक्क रोकियो।

कम्पाउण्ड भित्र हिक्कहिक्क गर्दै रोइरहेको आवाज मेरो कानमा ठोक्कियो। म अतालिँदै भित्र पसे।

सिन्धुली–झाजुली रातामाटाकी स्थायीवासिन्दा सरस्वती मगर काखमा दुधे बालक बोकेर भक्कानिएकी रहेछिन्। भन्दै थिइन–‘श्रीमान गाडी दूर्घटनामा परेर बिते। लौन हजुर यो काखको बच्चा पाल्ने बनाइदिनु पर्यो।’

मिना चन्द आफै हिंसा पीडित महिला हुन्। उनी आफूजस्तै हिंसामा परेका सैयौं महिलालाई निःशुल्क गाडी चलाउन सिकाउँछिन्। उनैलाई खोज्दै सरस्वती कार्यालय पुगेकी रहेछिन्। सरस्वतीका दुई नाबालक छोरा–छोरी छन्। उनी गाडी चलाएर आफ्नो लालाबाला पढाउन चाहन्छिन्।

मिनाले उनलाई सम्झाइन्, ‘रुन बन्द गर्नुस्। तपाईको आँशु पुछ्नुस्। म बाँचेकै छु क्यारे। तपाईको भविष्य र छोरा–छोरीलाई पढाउने जिम्मा म लिन्छु। तपाई कतै डगमगाउन पाउनु हुन्न नि।’ सरस्वतीको १६ वर्षको उमेरमा स्थानीय सिताराम गुर्माछेनसँग विवाह भएको रहेछ। १८ वर्षको उमेरमा जेठो छोरा जन्मिए। गाउँमा निकै दुःख थियो। सिताराम आफ्नो श्रीमतिलाई असाध्यै माया गर्थे। तर, सासु–ससुरा सरस्वतीलाई देखि नसहने।

‘तेरो जहान बोकेर जता जाने हो गईंहाल’ भनेपछि एकदिन सितारामले गाउँ छाडे। काठमाडौंको बसाईं निकै महंगो थियो। दैनिकी चलाउन हम्मेहम्मे पर्ने। उनी गाडी चलाउँथे। २०७४ सालमा यो जोडीले जेनतेन बैकबाट ऋण गरेर आफ्नै गाडी किन्यो। फागुन १४ मा गाडी निस्कियो तर दूर्भाग्य त्यही वर्ष चैत्र ५ मा दूर्घटनामा परेर सिताराम बिते।

सितारामको सपना थियो–बुढाबुढी नै गाडी चलाउन सिक्ने र कोखको छोरा हुर्केपछि दुबैले कमाएको पैसाले काठमाडौंमा सानै भएपनि झोपडी बनाएर बस्ने। तर, सितारामको त्यो सपना गाडी किनेको १९ दिनमै तुहियो।

११ लाख ऋणमा किनेको गाडी दुर्घटनामा पर्दा बिमावापत फिर्ता हुने रकम कहाँ दावी गर्ने? त्यो पनि उनलाई थाहा छैन। गाउँले दाजूले दिएको सानो सहयोगले उनीहरूमा ऋण लिने आत्मविश्वास पलाएको थियो। तर, अहिले गाडी दूर्घटना भएपछि सोही दाजूले कुच्चिएको गाडी बनाएर चलाइरहेका छन्। सरस्वतीको परिवारलाई भने हातमुख जोड्न हम्मे परेको छ।

‘गाउँ फर्किउँ भने के मुखले फर्किने?बुढो हुँदै लखेटिएका हामी। शहरमा बसौं भने के आधारले बस्ने? पेट पाल्ने पैसा छैन्’ उनले बेदना पोखिन्। उनी धेरै अगाडि श्रीमानले देखाएको सपना पूर्णरूपमा कार्यान्वयन गर्न मिना चन्द कहाँ आएकी रहेछिन्। बिएल नेपाली सेवाले चार महिनाअघि मिना चन्दको विषयमा एउटा भिडियो रिपोर्ट तयार पारेको थियो। यो भिडियो हेरेपछि उनी मिना चन्दलाई खोज्दै उनको कार्यालय आएकी हुन्।

सरकारले १६ दिने महिला हिंसाविरूद्धको अभियान चलाइरहँदा सरस्वती जस्ता पीडित महिलाको आवाज सिंहदरबारले सुन्न सकिरहेको छैन। न उनीहरूको आवाजको सम्बोधन नै भएको छ। बरु हिंसा पीडित भएर पनि आफू जस्तो अवस्था अरुको नहोस् भनेर काम गरिरहेका मिना जस्ता महिला पीडितबाट उनीहरूको उद्दार भएको छ।

महिला बालबालिका तथा जेष्ठ मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत वर्षेनी लाखौ बजेट खर्चिरहेको छ। हिंसा पीडित तथा विपन्न परिवारका महिलाको आर्थिक स्थिति सुधार गर्न सरकारले विभिन्न सीपमुलक कार्यक्रम आयोजना गरेको भन्दै बिनियोजित बजेट खर्चेको रिपोर्ट सार्वजनिक गर्छ।

उसले आफ्नो कार्यक्रम सफल भएको भन्दै आफ्नै पिढ पनि थपथपाउँछ। तर, यस्ता अभियानमा सरस्वती जस्ता हजारौं महिला सधै छुटिरहेका हुन्छन्। यसले अभियानको औचित्यमाथि प्रश्न उठ्नु जायज पनि हो।

मलाई पछिल्लो समय महिला हिंसाविरूद्ध आकर्षक नाराले उत्साही बनाउन नसकेको कारण पनि सायद यही होला? त्यसैले सरकारसँग मेरो आग्रह छ, ठूलाठूला कुरा गर्नुभन्दा सरकारले राज्यसँग पहुँच नपुगेका यस्ता पात्रहरूको समस्या समाधान गरोस्।

प्रकाशित मिति: : 2019-12-06 14:38:11

प्रतिकृया दिनुहोस्