सागको छैटौं दिन: आज २० खेल हुँदै,कुन खेल काहाँ?

फाइल तस्बिर: बिएल

नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज (शुक्रबार) विभिन्न २० खेलमा प्रतिस्पर्धा हुँदैछ।

सागमा शुक्रबार फुटबल, आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ। कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ।

फुटबलः

पुरुष फुटबलमा आज नेपालले माल्दिभ्सको सामना गर्दैछ। यसअघि भुटानलाई ४–० ले हराएको नेपालले श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो। आज नेपाल स्पष्ट ३ अंक हात पार्दै अंक तालिकाको शिर्ष स्थानमा पुग्न चाहान्छ। अहिले अंक तालिकाको शिर्ष स्थानमा भुटान रहेको छ। उसको तीन खेलबाट ६ अंक रहेको छ भने नेपालको दुई खेलबाट ४ अकं रहेको छ।

नेपाल र माल्दिभ्सको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा साँझ ५ बजे सुरु हुनेछ।

क्रिकेट :

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पुरुष क्रिकेटका दुई खेल हुनेछन्। पहिलो खेलमा भुटानले टेष्ट राष्ट्र बंगलादेश यू-२३ को सामना गर्ने छ। यस्तै दोस्रो खेलमा नेपाल र माल्दिभ्सबीच हुनेछ।

पोखरा क्रिकेट रंगशालामा हुने महिलातर्फ नेपालले टेष्ट राष्ट्र श्रीलंकासंग खेल्दै छ। खेल बिहान ११ बजे हुनेछ।

बक्सिङ :

साग अन्तर्गत शुक्रबारबाट बक्सिङ सुरु हुनेछ । पहिलो दिन बक्सिङमा नेपालले ४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ।

सातदोबाटोस्थित कराते हलमा नेपालले ४ वटा इभेन्टमा प्रतिस्पर्धा गर्न लागेको हो। 

टेबल टेनिस :

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहिबार एकलतर्फको खेल हुनेछ। शुक्रबार बिहान ९ बजेदेखि पुरुष एकलको सेमिफाइनलका खेल सुरु हुनेछ। सेमिफाइनलमा नेपालका पुरुषोत्तम बज्राचार्यले भारतका हर्मित देशाईसँग खेल्नेछन्।

एथ्लेटिक्स :

एथ्लेटिक्सतर्फ शुक्रबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा बिहान ९ बजेबाट सुरु हुने एथ्लेटिक्समा १६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। जसमा ९ खेलको फाइनल चरणको खेल हुनेछ।

सुटिङ :

सुटिङतर्फ शुक्रबार दुई खेल हुँदैछन्। बिहान पहिलो चरणमा र्यापिड फायर पेस्तोलका खेल हुनेछ। यस्तै एयर पेस्तोल महिलाको खेलपनि हुनेछ। महिला खेल शुक्रबार फाइनल हुनेछ।

भारोत्तोलन :

भारोत्तोलनमा शुक्रबार ५ स्पर्धा हुनेछ। पुरुषतर्फ ३ तथा महिलाको २ खेल हुनेछ। पुरुषमा ६७ केजी, ७३ केजी र ८१ केजीको प्रतिस्पर्धा हुनेछ भने महिलामा ५९ र ६४ केजीको स्पर्धा हुनेछ।

स्क्वास :

शुक्रबारबाट स्क्वासको खेलहरु हुँदैछन्। प्रतियोगिताको छैठौ दिनबाट स्क्वास हुन लागेको हो। सातदोबाटोस्थित स्क्वास हलमा महिला तथा पुरुष दुवै तर्फको खेल हुनेछ। पहिलो दिन राउण्ड र क्वाटरफाइनलका खेल हुनेछन्।

बीच भलिबल :

बिच भलिबलतर्फ शुक्रबार पनि महिला र पुरुष दुवैतर्फको लिग चरणमा खेलहरु हुनेछ। 

फेन्सिङ :

फेन्सिङको खेलहरु शुक्रबारबाट सुरु हुनेछ। पहिलो दिन केहि विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

टेनिस :

टेनिसमा शुक्रबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ। शुक्रबार पुरुष तथा महिला एकलतर्फको खेलहरु हुनेछ।

कुस्ती :

कुस्तिको खेल जनकपुरमा शुक्रबार सुरु हुनेछ।

साइक्लिङ :

साइक्लिङ अन्तर्गत शुक्रबार पनि विभिन्न खेल हुनेछ। साइक्लिङको प्रतिस्पर्धा गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद एवम् शान्ति पार्कमा हुनेछ।

ह्याण्डबल :

ह्याण्डबलमा शुक्रबार पुरुषमा भारतले माल्दिभ्स तथा पाकिस्तानले श्रीलंकाको सामना गर्ने छ। यस्तै महिलातर्फ पाकिस्तान र भारत तथा बंगलादेशले श्रीलंकासंग खेल्ने छ।

पौडी :

पौडीको दोस्रो दिन नेपालले विभिन्न ईभेन्टमा प्रतिस्पर्धा गर्नेछ। सातदोबाटोस्थित स्विमिङ पुलमा नेपालले पहिलो दिन १ स्वर्ण, एक रजत र एक कास्य जितेको छ।

बास्केटबल :

बास्केटबल शुक्रबार तीन खेल हुनेछ। आज दुवै महिला र पुरुषतर्फको खेल हुनेछ ।

पुरुषमा बंगलादेश र माल्दिभ्स तथा भारत र भुटानले खेल्नेछ। महिलामा भारत र माल्दिभ्स खेल्ने छन्।

कब्बडी :

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा कब्बडीतर्फ शुक्रबार लिग चरणमा अन्ति खेल हुनेछ। जसबाट समूह विजेता र उपविजेता तय हुनेछ।

महिलातर्फ नेपाल र भारत एक खेल अगावै फाइनलमा पुगिसकेका छन् । नेपालले अन्तिम खेलमा भारतसँग खेल्नेछ।

ब्याडमिन्टन :

पोखरामा भईरहेको ब्याडमिन्टनतर्फ शुक्रबार पनि विभिन्न इभेन्टको खेलहरु हुँदैछ।

शुक्रबार ब्याडमिन्टनको सिंगल डबल्स र मिक्स डबल्सतर्फ फाइनल स्पर्धा हुनेछ। 

गल्फ :

गोकर्ण फरेस्ट गल्फ क्लबमा गल्फको प्रतिस्पर्धा बिहान १० बजेबाट सुरु हुनेछ। 

आर्चरी :

आर्चरी खेल शुक्रबारबाट सुरु हुनेछ। पोखरामा हुने आर्चरीतर्फ नेपाल सहित भुटान, श्रीलंका र बंगलादेशको सहभागी हुने।

अन्तिम समयमा आएर पाकिस्तान भने सहभागी नहुने भएको छ।

 

प्रकाशित मिति: : 2019-12-06 07:50:24

प्रतिकृया दिनुहोस्