घटना वि.सं. १९९७ साल माघ ६ गतेको हो। त्यतिबेला म ११ वर्षको थिएँ। त्यो दिन ओमबहालबाट नजिकै इनाखामा रहेको मामाघर गएको थिएँ। घरबाट नजिकैको मामाघरबाहिर साथीहरुसँग खेलिरहेको थिएँ। लप्सीको बियाँ घोटेर फिरफिरे (च्याम्पाती) बनाएर घुमाउँदै साथीहरुकोसँग ठोक्काउन खुबै प्रतिस्पर्धा चल्थ्यो। त्यो दिन पनि साथीहरुसँगै बाग्मतीनजिकै ढुङ्गा छापेको सडकमा लप्सीको बियाँ घोट्दै थियौं, फिरफिरे बनाउन। त्यहीबेला हाम्रै उमेरका अर्का साथी आइपुगे। साथी त आए तर खेल्न होइन कुनै अप्रिय खबर बोकेर।
‘ओइ! तल बाग्मती जाने बाटोको छेऊमा एउटा मान्छे झुण्ड्याएको छ,’ त्यो साथीले एकै सासमा भन्यो।