सावित्राको कीर्तिमानी गोलसँगै नेपाल फाइनलमा

फाइल तस्बिर: बिएल

नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा बिहिबार माल्दिभ्सलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन्।

सावित्राले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाए। खेलको २१ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाईन्। त्यसपछि खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै नेपाललाई ३–० को जित दिलाए।

यसै खेलबाट सावित्राले नेपालको लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएकी छिन्। सावित्राले नेपालको लागि ३९ औं गोल पूरा गरेकी हुन्।

उनले ३५ गोल गर्ने अनु लामाको कीर्तिमान भंग गरेकी हुन्।

जितसँगै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो। नेपालले ६ अंक जोडेको छ। अब नेपालले लिग चरणको अन्तिम खेलमा भारतसँग शनिबार खेल्नेछ। भारत पनि फाइनल प्रवेश गरिसकेको छ। भारतले बिहिबार श्रीलंकालाई ६–० गोल अन्तरले हराएको थियो।

राउण्ड रोबिनमाको आधारमा जारी महिला फुटबलको शीर्ष दुई टिम उपाधिका लागि खेल्नेछ।

प्रकाशित मिति: : 2019-12-05 17:41:51

प्रतिकृया दिनुहोस्