प्रहरीले दु:ख दिएको भन्दै व्यापारीहरुले दिए सिमा नाकामा धर्ना

फाइल तस्बिर: बिएल

पर्साको ग्रामिण भेगको मुख्य बजारको रुपमा चिनिने भिस्वा बजारमा प्रहरीले ज्यादती गरेको भन्दै व्यापारीहरुले सिमा नाकामा धर्ना दिएका छन्। प्रहरीले बिलबिजक भएको समान पक्राउ गरि भन्सार बुझाएपछि छिपहरमाई गाउँपालिकाको वडा नं. ५ मा पर्ने सिमावर्ती भिस्वा बजारमा व्यापारीहरुले धर्ना दिएका हुन्।

बिहिबार बिहानैदेखी व्यापारीहरुले सिमा नाकामा चक्काजाम गरी पैदल आवतजावतमासमेत रोक लगाएको बजार समितीका अध्यक्ष गणेश प्रसाद जयसवालले जानकारी दिए।

पछिल्लो समय पर्सा प्रहरीले वीरगंजबाट भिस्वा लगिएका मालसामान बिच बाटोमा नियन्त्रणमा लिइ व्यवसायीहरुलाई दुःख दिन थालेपछि धर्नामा उत्रेको जैसवालले बताए। यसअघि व्यापारीहरुले बुधबार राति पनि भिस्वा बजारमा मशाल जुलुश निकालेका थिए।

गत बिहीबार राती वडा अध्यक्ष मौजीलाल साहको घर अगाडि रोकीएको टयाक्टर प्रहरीले बिना सुचना नियन्त्रमा लिएर भन्सार बुझाएपछि भिष्वाका व्यापारीहरु प्रहरी प्रशासनको विरोध गदै आएका छन्।

पक्राउ परेका सामान तस्करी प्रयोजनको भएकोले प्रहरीले नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता अनन्तराम शर्माले बताए। बरामद भएका सामान किराना व्यावसायीको प्रयोजनको लागि नलगिएको र भिस्वा लगेर तस्करी गर्ने नियत व्यापारीको देखिएकोले पक्राउ गरिएको उनले बताए।

प्रकाशित मिति: : 2019-12-05 13:49:10

प्रतिकृया दिनुहोस्