पर्सामा यस वर्ष धान उत्पादनमा कमी आयाे

बिएल

पर्सामा यस वर्ष धानको क्षेत्र विस्तार भएपनि पानी तथा मलको अभावका कारण उत्पादनमा कमी आएको छ। गत बर्षको तुलनामा यस वर्ष २ हजार ५० हेक्टर बढी क्षेत्रफलमा धान रोपाई भएपनि गत वर्षको तुलनामा यस वर्ष एक हजार ४ सय मैट्रिक टन धानको उत्पानमा ह्रास आएको छ।

यस बर्ष बाढिको समस्याले गर्दा पर्सामा रोपाई ढिलो गरी सुरु भयो। रोपाई सम्पन्न भएपछि सुरुवाति अवस्थामा चाहिने मल तथा सिँचाईको लागी आकाशे पानीको भर पर्दा धानको उत्पादन घटेको बिन्दवासिनी गाउँपालिका गर्दौलका किसान किशोरी पटेलले बताए। किसानले उब्जनी बढाउन जत्ति सुकै मेहनत गरेता पनि समयमा नै मल तथा सिँचाईको लागि पानिको व्यवस्था नहुँदा उत्पादनमा कमि आएको अर्का किसान भोला मुखीयाको गुनासो छ।

गतवर्ष पर्सामा ४५ हजार हेक्टर खेतबाट २ लाख २७ हजार २५० मैट्रिक टन धान उत्पदान भएकोमा यस वर्ष ४७ हजार ५० हेक्टर क्षेत्रफलमा लगाएको खेतिबाट २ लाख २५ हजार ८ सय ४० मैट्रिक टन मात्र उत्पादन भएको कृषि ज्ञानकेन्द्र पर्साले जनाएको छ। उनले गत वर्ष प्रति हेक्टर ५.०५ मेट्रिक टनको दरले धान उत्पादन भएकोमा यसबर्ष उत्पादन घटेर प्रति हेक्टर ४.८ मैट्रिक टन उत्पादन भएको बताए।

पर्सामा कुल ५० हजार ४६ हेक्टर खेतियोग्य जमिन रहेको छ। धानको बिरुवामा गाँज हाल्ने बेलामा पानी नपरेको हुँदा उत्पादनमा कमी आएको कृषि ज्ञानकेन्द्र पर्साका प्रमुख डा. रामचन्द यादव बताउछन्। साथै उनले मल अभाव भएपछि किसानहरु भारतीय मल खरिद गर्न बाध्य भए जसकारण भारतीय मल गुणस्तरीय नभएकोले सोचे जस्तो उत्पादन नहुन पनि एक कारण भएको बताए । बिभिन्न रोगका किराहरुले गर्दापनि उत्पादनमा कमि आएको डा. यादवले बताए ।

अन्नको भण्डार रुपमा चिनिने तराईका बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा आवश्यक सिचाई तथा मलखादको व्यवस्था सरकारले गर्न सके उत्पादन बढ्ने र खाद्यान्नमा परनिर्भता घट्ने कृषि ज्ञान केन्द्र पर्साका प्रमुख यादवको सुझाव छ। सरकारले समयमा ध्यान नदिदाँ मेहनत गरे अनुसार उब्जनी नहुनु प्रति किसानहरु चिन्ता व्यक्त गर्छन्।

प्रकाशित मिति: : 2019-12-04 13:28:13

प्रतिकृया दिनुहोस्