देश 'साग' खेल-उत्सवमा, मन्त्रीहरू 'दौरा-सुरूवाल' ट्विटर युद्धमा

'दौरा-सुरूवाल' का लागि ट्विटरयुद्धमा होमिएका ओली क्याविनेटका दुई महारथिहरू । एक प्रतिकात्मक तस्बिर ।

देशमा उत्साहका साथ दक्षिण एसियाली खेल कुम्भको सागको १३औं संस्करण आयोजना भैरहेकोे छ। चौथो दिनसम्म पनि नेपाल पदक तालिकामा शीर्ष स्थानमा रहेर इतिहास रचिरहेको छ । खेलाडीहरू देशका लागि पदक जितेर राष्ट्रिय झण्डा फहराइरहेका छन्, राष्ट्रिय गीत गुनगुनाइरहेका छन् । 

तर, दर्भाग्य यति नै बेला देशका दुई 'प्रभावशाली' मन्त्री भने ट्विटर हेण्डल सुम्सुम्याउँदै सागको दौराको फेरमा अल्झिएका छन्। यसरी अल्झिने मन्त्रीहरू हुन्- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका खास मान्छेका रूपमा क्याविनेटमा ठाउँ बनाएका यी दुई मन्त्री साग प्रतियोगिता आयोजनाका लागि मन्त्रिपरिषद्ले नै प्रधानमन्त्री ओलीको अध्यक्षतामा बनाएको उच्चस्तरीय निर्देशन समितिका सदस्य हुन् ।

मन्त्रिपरिषदको बैठकले नै निर्णय गरेको छ कि निर्देशन समितिका पदाधिकारी तथा सलस्यलाई कोटसहितको पोसाक दिने। त्यही निर्णयको आधारमा यी दुई मन्त्रीसहित समितिमा रहेका अन्य पदाधिकारी तथा सदस्यका नाममा पनि दौरा सुरूवाल व्यवस्थापन गरिएको छ ।

यही नीतिगत निर्णयका आधारमा नयाँ पत्रिका दैनिकले समाचार बनाएपछि मन्त्रीद्वय ज्ञवाली र बास्कोटा पत्रकारिता सिकाउँदै ट्वीटर हेण्डिल उज्याउन पुगेका हुन्। 

ओली क्याविनेटले पारित गरेको कार्यविधिअनुसार निर्देशन समितिमा रहेका रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले दौरा–सुरुवाल लगाइ सकेका छन्। तर, त्यही समितिमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ‘हामीलाई जानकारी नै छैन’ भन्दै तथानाम गरिरहेका छन्।

यी मन्त्रीलाई शायद आफू कुन कुन समितिमा छु? त्यो समितिमा बसेपछि आफू नै मन्त्री भएको क्याविनेटले आफ्ना लागि के के सुविधा ग्रहण गर्ने निर्णय गर्यो ? त्यसबारेमा केही थाहा नै छैन। 

दौरा सुरूवाल लिए/ लिएनन् ? त्यो महत्वपूर्ण कुरा भएन तर आफूलाई सुविधा लिने नीतिगत निर्णय त क्याविनेटबाटै पास गराएका रहेछन् नि। अहिले जब खेलाडीलाई दौरा सुरूवाल नपुगेको समाचार बाहिरियो तब उनीहरू साखुल्ले बन्न उल्टै समाचार लेख्ने सञ्चारकर्मीहरूलाई पत्रकारिता सिकाइरहेका छन्।

यसबाट के प्रष्ट हुन्छ भने यी मन्त्रीहरू या त शक्तिको मात चढेर हामीले जे गरे पनि हुन्छ भन्ने ठानिरहेका छन् या यिनीहरू पूरै हुस्सु भैरहेका छन्। 

 

 

प्रकाशित मिति: : 2019-12-04 11:26:01

प्रतिकृया दिनुहोस्