कर्णालीका १५ हजार विद्यार्थीलाई जापानी झोला उपहार

बिएल

एक वर्ष अगाडि आगलागीबाट पुरै नस्ट भएको कालिकोटको पलाँता गाउँपालिकाका २ हजार ६ सय विद्यार्थीहरुलाई जापानी झोला उपहार दिइएको छ। रूपान्तरण नेपालद्वारा युमी नेपाल–जापान (YouMe Nepal, Japan) को सहयोगमा कर्णालीका सार्वजनिक विद्यालयमा कक्षा ४ देखि ८ सम्म अध्ययनरत १५ हजार विद्यार्थीहरुका लागि जापानी झोला उपहारस्वरूप प्रदान गरिने हो।

युमी नेपाल–जापान नेपाली र जापानी युवा प्रतिभाहरु मिलेर बनाएको विशेषत नेपालमा शिक्षा क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था हो। जापानी झोला सहयोग कार्यक्रम स्थानीय तहमा फिल्र्ड रिसर्चरहरु पठाई ४ देखि ८ कक्षासम्मका सम्पूर्ण विद्यार्थीहरुको सङ्कलित तथ्याङ्कका आधारमा वितरण गर्न लागिएको रुपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले जानकारी दिए।

झोला वितरण कार्यक्रमको कालिकोटको पलाँता गाउँपालिकाबाट सुरु गरिएको छ। प्रतिनिधि सभा सांसद दुर्गबहादुर रावतले पलाँताका २ हजार ६ सय विद्यार्थीलाई हस्तान्तरण गरेपछि सुरु भएको हो। उक्त कार्यक्रममा बोल्दै रावतले कर्णाली प्रदेशको दुरदराजका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई सात समुन्द्र पारीबाट किताव, कापी बोक्ने झोला कोसेली पठाएकोमा उक्त कार्यको प्रसंशा गरे।

उनले हातमा किताब, कापी च्यापेर विद्यालय जान बाध्य विद्यार्थीहरूलाई उक्त कोसेलीले पढाई प्रति प्रेरित गर्नेमा आफू विस्वास्त रहेको थपे।

पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले जापानी झोला सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि अमूल्य उपहार भएको बताए। उनले पलाँताका सम्पूर्ण विद्यार्थीहरुलाई समेट्ने गरी जापानबाट बालबालिकाका लागि झोला उपलब्ध गराएउने रूपान्तरण नेपाल र युमी नेपाल–जापानलाई विशेष धन्यवाद दिए।

जापानी झोला उपहार कर्णालीका १५ हजार विद्यार्थीले पाउने शाहीले बताए। अब दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका, जाजरकोटको भेरी नगरपालिका, सल्यानको शारदा नगरपालिकाका सार्वजनिक विद्यालयमा कक्षा ४ देखि ८ सम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई उपलब्ध गराइने छ। त्यस्तै वीरेन्द्रनगर, सुर्खेतका दृष्टिविहिन, बहिरा र बौद्धिक अपाङ्गता भएका विद्यार्थी पढ्ने ३ वटा विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई समेत प्रदान गरिनेछ।

प्रकाशित मिति: : 2019-12-03 22:14:55

प्रतिकृया दिनुहोस्