'किन यस्तो गरेको भन्दै भुत्लाउन मन थियो, तर प्रहरीले रोक्यो, कुट्नै दिएन'!
यो भनाई कुनै गुन्डागर्दी गर्ने वा लागुऔषध दुर्व्यसनीको होइन्। यो भनाई त २०६८ साल माघ महिनामा भारतमा बेचिएकी निरूताको हो।
निरुता आफ्नै काकीबाट भारतमा बेचिइएकी रहेछिन्। उनलाई ललितपुर चापागाउँकी ५० वर्षीया सुनिता भनिने कान्छी तामाङले मधुन भन्ने स्थानको कोठीमा १० हजार रुपैयाँ भारुमा बेचेकी रहेछिन्।
मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएका टोलीले गत कात्तिक २६ गते उनकी काकीलाई पक्राउ गरेको रहेछ। बिएल नेपाली सेवालाई सूचना आएसँगै हामी राजधानीको माइती नेपालको कार्यालय पुगेउ। निरूता पनि त्यहीँ भेटिइन्। उनीले हामीसँग जव आठ वर्षअघि भारतको कोठीमा बेचिएको कुराको विस्तारै बेलिबिस्तार शुरु गरिन् तव उनमा निकै ठूलो आक्रोश देखियो। जुन स्वाभिक पनि थियो।
२०६८ सालमा बाबुले कान्छी आमा ल्याएपछि निरूता काम खोज्दै काठमाडौं आएकी थिइन्। १५ वर्षको उमेरमा उनलाई पढ्ने रहर थियो। तर, बाध्यताले काम गर्नुपर्यो।
राजधानीको गल्लीगल्लीमा कठ्याग्रिँदै थुप्रै रात बिताउन उनी विवश बनिन्। विभिन्न ठाउँमा भौतारिँदै गर्दा एक दिन गाउँतिरकै मानिसको सम्पर्कमा उनी पुगिन्, जसले घरमा भाडा माझ्ने काम दिलाए। महिनाको पाँच हजार रुपैयाँ दिने भनियो।
तर, त्यहाँ भनेजति पैसा नपाएपछि त्यो छाडेर होटलमा काम गर्न थालिन् । मासिक ९ हजार दिने भनिएको थियो। तर, त्यहाँ पनि उस्तै। सास्ती मात्र पाइन्।'साहुहरू राम्रा थिए। भात अर्डर गर्नुपर्थ्यो। तर, पढ्न चाहीँ पाइनँ', निरूताले भनिन्।
त्यसपछि काका शेरबहादुर लामा र काकी कान्छी तामाङले पढ्न पाउने भन्दै भारत लगे। 'राम्रो काम पाइन्छ अनि पढ्न पनि पाइन्छ भन्दै काकी र काकाले नै मलाई भारत लग्नुभयो। मैले त पछि मात्र थाहा पाएँ', निरुताले बिएल नेपाली सेवासँग भनिन्।
काठमाडौंबाट हिँडेको दुई दिनपछि उनीहरू भारत पुगे। शुरूमा उनलाई कहाँ पुगेको पत्तै भएन। तर, नेपाली भाषा नबोल्ने र सबैले हिन्दी बोलेको सुनेपछि उनलाई भारत पुगेको थाहा भयो।
वरिपरी केटी नै केटी निरूता अचम्ममा परिन्। निरूतालाई कहाँ–कहाँ आएको जस्तो लाग्यो। निरूतासँगै आएकी काकीले भोलिपल्ट नै उनलाई भारतमा रहेको एक कोठीका सञ्चालक लक्ष्मी र हेमा नाम गरेकी महिलालाई बिक्री गरिन्।
त्यहाँबाट पैसाको बिटो लिएको पनि उनले देखेकी थिइन्। तर, कुनै प्रतिक्रिया जनाइनन्। त्यहाँ उनलाई सबै कुरा अनौठो र नौला लागिरहेको थियो। जहाँ उनले आफ्नो अस्मिताको खरिदविक्री भएको पत्तै पाइनन्।
एक महिनासम्म उनी काकी आउने आशामा बसिरहिन्। तर उनकी काकी आइनन्। एक महिनापछि निरूताको लागि झनै कहाली लाग्दो दिन शुरू भयो।
उनलाई शारीरिक र मानसिक यातना दिइयो। तीन पटक सुई र पटकपटक विभिन्न औषधि पनि खुवाइयो। अहिले २२ वर्ष पुगेकी उनी भन्छिन्, ‘त्यतिवेला मेरा वक्षस्थल ठूलो देखाउने औषधि दिइएको रहेछ ।’
महिना दिनपछि उनलाई कोठी नं. ५११ मा पहिलोपटक लगियो। जहाँ पहिलो पटक एक अधवैंशले उनको अस्मिता लुटे। उनी प्रतिकार गर्न खोज्थिन्।तर सबै बिफल हुन्थ्याे।
‘दुई वर्षसम्म त हिन्दी भाषासमेत बुझिनँ।दिनहुँ पुरूषसँग देह विक्री गर्नुपर्ने भयो। शुरुमा एकदम गाह्रो हुन्थ्यो। गर्दिनँ भनेर चिच्यायो भने पनि मार्दिन्छु भनेर डर देखाउँथे', निरूताले सुनाइन्। ग्राहक भन्थे, ‘तीन सय टका तिर के आया हुँ… ।’
विस्तारै ग्राहकको संख्या बढ्दै गयो। दिनमा दुई, पाँच हुँदै उनले २५ जनासम्मको प्यास मेट्नुपर्थ्यो। दुई वर्ष यो कोठीमा बसेपछि उनलाई कोठी नम्बर ६४ लगेर दुई वर्ष र ४० नं. कोठीमा लगेर १५ दिन राखियो। जहाँ उनलाई ‘कल गर्ल’को रुपमा कोठी बाहिर पनि जान भनियो। तर, उनले मानिनन्।
कोठीको पीडा र घरको यादले निरूतालाई सताइरह्यो। शुरूमा धेरै भाग्न खोजिन्। तर, भाग्ने सबै बाटो बन्द थिए।'कहाँबाट भाग्नु सबैतिर सिसिक्यामेरा हुन्थ्यो। गार्ड हुन्थे। खाना बनाउने नेपाली दाइहरू पनि थिए। तर, हामीलाई एक शव्द पनि बोल्न दिँदैन थिए,' निरूताले भनिन्।
उनीसँगै त्यहाँ अन्य नेपाली महिला पनि देहव्यापार गर्न बाध्य छन्। उनीहरूलाई भारतको नयाँदिल्लीस्थित कोठी नम्बर ५११ मा दुई वर्ष, कोठी नम्बर ६४ मा दुई वर्ष र कोठी नम्बर ४० मा १५ दिन राखी यौनधन्दामा लगाइयो।
करिब पाँच वर्षसम्म कोठीमा नरकीय जीवन विताइरहँदा उनले कुनै दिन घर फर्कुँला भन्ने कल्पना समेत गर्न छाडिसकेकी थिइन्। कसैको माया, ममता पाउने त परको कुरा।
एक दिन निरूताले एक नेपाली ग्राहक भेटिन्। जो नियमित कोठीमा आइरहन्थे। लामो समयको उठवसपछि निरूता र गोरखा घर भएका ती युवक बीच माया बस्यो।युवकले कोठीमा भेटेको निरूतालाई शारीरिक माया मात्र गरेनन् मनबाट नै प्रेम गर्न थाले।
एक दिन उनै युवकले निरूतालाई भगाउने सोच बनाए। तर, शुरुमा निरुताले युवकलाई विश्वास नै गरिनन्। कतै फेरि अर्को ठाँउमा बेच्न त लग्दैन भन्ने लागेको थियो।तर लामो समयपछि युवकको विश्वासमा परेपछि उनी त्यहाँबाट भाग्न सफल भइन्।
'उसले मलाई धेरै सहयोग गरेको छ। विरामी पर्दा उपचार गर्यो। मेरो लागि सुन र मोटरसाइकलसमेत बेच्यो,' निरुताले भनिन्।
आफन्तले भारतको कोठीमा पुर्याएर बेचे। तर, चिन्दै नचिनेको पराईले उनलाई बचायो। अहिले निरूताको मनबाट आफन्तको विश्वास डगमगाएको छ।
कोठीबाट माईति नेपालको कोठासम्म पुग्दा निरुतालाई पिँजडाको सुगालाई छाडिएझैँ महसुस भएको छ। तर, उनको मनमा फेरि एक डर दाबिएको छ। त्यो डर हो काकीले कतै उन्मुक्ति त पाउने होइन?
उनलाई अहिले प्रहरीले सान्तवना दिइरहेको छ। मानव बेचबिखन तथा ओसारपसार ऐनमा भएको व्यवस्था अनुसार कडाभन्दा कडा कारबाही हुने आश्वासन दिएको छ। उनी त्यहिँ आश्वासन पनि कतै पुरा नहुने पो हो की भन्ने डरमा छिन्। किनभने उनका काका शेरबहादुर अझै फरार छन्।
अहिले निरुतालाई माइती नेपालले काउन्सिलिङसँगै सामान्य लेखपढ पनि गर्न सिकाइरहेको छ। उनी भन्छिन्- 'म त बेचिए तर अब कुनै म जस्तो सोझा साझा आफन्तबाटै बेचिन नपरोस्।'