बलात्कार आरोपी 'सिद्धबाबा' आईसीयूबाटै पक्राउ

फाइल तस्बिर: बिएल

बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले सोमबार बिहान ४ बजे विराट नर्सिङहोमबाटै उनलाई पक्राउ गरेको हो।

डीएसपी विनोद शर्माले पक्राउ गर्दा अनुयायीले अवरोध गर्नसक्ने भएकाले बिहानै आईसीयूबाटै नियन्त्रणमा लिएर सुनसरी लगिएको बताए। पक्राउ परेका उनलाई एम्बुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्याइएको छ।

याे पनि

बलात्कारको आरोप लागेका 'सिद्धबाबा' भन्छन्: नखाएको विष नलाग्ने भएकाले म भयवित र चिन्तित छैन

उनकै शिष्य बताउने एक महिलाले  गिरीमाथि आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन्। बलात्कार आरोप लागेपछि गिरी हृदयघात भएको भन्दै आइतबार विराट नर्सिङ होममा भर्ना भएका थिए।

गिरीले आफूलाई छात्ती, मुटु तथा प्रोस्टेटका कारण पिसावमा पनि समस्या रहेको बताएका छन्। मृर्गौलामा चारवटा पत्थरी रहेको उनले बताएका थिए।

तर,विराट अस्पतालका चिकित्सक ज्ञानेन्द्र गिरीका अनुसार, उनलाई ‘माइनर हर्ट अट्याक’ भएको थियो। हेलचेक्रयाइँ गर्दा थप जटिलता आउने भएकाले उनलाई आईसीयूमा राखेर उपचार गरिएको र अहिले सुधार आएको चिकित्सक गिरीले बताए।

यता गिरीकी अनुयायी सुगीता श्रेष्ठले आरोप निराधार भएको बताउँदै फसाउने षड्यन्त्र रचिएको उल्लेख गरिन्। महिलालाई चरण समेत छुन नदिने गुरुमाथि फसाउने षडयन्त्र भएको उनको दाबी छ।

 

प्रकाशित मिति: : 2019-12-02 07:31:45

प्रतिकृया दिनुहोस्