बलात्कारको आरोप लागेका 'सिद्धबाबा' भन्छन्: नखाएको विष नलाग्ने भएकाले म भयवित र चिन्तित छैन

बिएल

सिद्धबाबा कृष्णदासजी महाराजले आफूमाथि लागेको बलात्कारको आरोप निराधार र मातृत्वमाथिको प्रहार भएको बताएका छन्।

आफूमाथि आरोप लगाउनेलाई कहिल्यै नदेखेको र नचिन्ने बताउँदै उनले आफ्नो मूल्याँकन समाजले गर्ने बताए। ‘प्रहरीमा जाहेरी परेका कारण निगरानीमा छु भन्ने सुनें,’ उनले भने, ‘नखाएको विष नलाग्ने भएकाले म भयवित र चिन्तित छैन।’ शनिबार भएको संक्षिप्त कुराकानीमा कृष्णदासले प्रश्न गरे, ‘मैले राष्ट्रप्रति गरेको उपकार र व्यवहारले देशमा कतै नोक्सान पुगेको छ? हैन भने म माथि किन यत्रो अन्याय ?’ 

आरोप निराधार रहेको बताउने क्रममा उनी आँखा भरी आँसु बनाएर भक्कानिए। उनले भने, ‘मानवलाई नरबाट नारायण र जीवबाट शिव तथा जीवनलाई कसरी अमृतमय बनाउन सकिन्छ भन्ने मेरो विशुद्ध प्रयत्न दू्रत गतिमा अघि बढिरहेको र त्यसमा सफलता प्राप्त भइरहेका बेला मलाई नै ढाल्ने प्रपञ्च भयो।’ 

आफ्ना आश्रममा दुई सय भक्त रहेको बताउँदै उनले भने, ‘कुनै एउटा महिला शिष्य म मात्रै बसेको ठाउँमा एक्लै जान सक्ने अवस्था पनि हुँदैन। म माथि आरोप लगाउनेले फेसबुक म्यासेन्जरबाट इच्छा व्यक्त गरेको भए पनि मसँग प्रत्यक्ष भेटघाट पनि भएको छैन। मेरो आश्रममा एक जनासँग गोप्य भेटघाट गर्न सक्ने अवस्था नै हुँदैन।’

यो मानवहित र राष्ट्रका लागि चलाइएको अभियानबाट रुष्ट बनेकाले आफ्नो छवि र प्रयत्न ढाल्न रचेको प्रपञ्च भएको कृष्णदासले बताए। ‘अनुयायी बनेर झुल्किनेले यस्तो गर्नु भनेको गम्भीर षडयन्त्र हो,’ उनले भने, ‘साधिकाको भेषमा कलंक बनेर नेपालको धर्म, संस्कार र संस्कृति एवं मातृत्व प्रति प्रहार गर्न खोजिएको हो।’ यस्ता घिनौला हर्कतहरुको छानबिन गर्दै सही निर्णयमा पुग्नु पर्नेमा उनको आव्हान छ। ‘नेपालको सान, राष्ट्र प्रतिको त्याग र धर्मको एउटा वृक्षलाई ढालेर सदाचारी तथा संयमित व्यक्तिको अन्त्य गर्न खोजियो,’ आँखा भरी आँसु पार्दै उनले भने, ‘राष्ट्र निर्माण र मानवको भलोका लागि चलाइएको महाअभियान तुहाउने खेल हो।’

एक महिलाले यसरी फेसबुक म्यासेन्जरमा लेखेको विषयमा विद्युतिय अपराधमा अनुसन्धान अघि बढाउन आग्रह गरेर हनुमानढोका प्रहरीमा एक महिना अघि नै जाहेरी दिइसकेको कृष्णदासले बताए। ती महिलाले गम्भीर षडयन्त्र गर्दै समितिसँग समेत ६० लाख रुपैयाँ बार्गेनिङ गरेको उनको भनाइ छ। ‘फेसबुक म्यासेन्जरमा अनेक कुरा लेखिएका छन्,’ उनले भने, ‘गुरु प्रतिको मर्यादा नाघेर एउटा शिष्यले लेख्ने कुरा नै हैन यो।’ उनले आफू २४ घण्टा नै सुरक्षा घेरामा हुने भएकाले त्यो भीड छिचोलेर आफूसम्म महिलाले आउनै नपाउने भएकाले यति भयानक गल्ती नभएको दाबी गरे।

उनकै शिष्य बताउने एक महिलाले कृष्णदासमाथि आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन्। बिहीबारदेखि विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनी प्रहरीको निगरानीमा छन्। कृष्णदासले आफूलाई छात्ती, मुटु तथा प्रोस्टेटका कारण पिसावमा पनि समस्या रहेको बताए। मृर्गाैलामा चारवटा पत्थरी रहेको उनले बताए । बाहिरी गतिविधी र धपेडीले व्यक्तिगत साधना गर्न नपाउँदा आफू रोगको सिकार बन्नु परेको कृष्णदासको भनाइ छ।

कृष्णदासजीकी अनुयायी सुगीता श्रेष्ठले महाराजमाथिको आरोप निराधार भएको बताउँदै फसाउने षड्यन्त्र रचिएको उल्लेख गरिन् । महिलालाई चरण समेत छुन नदिने गुरुमाथि फसाउने षडयन्त्र भएको उनको दाबी छ।

 

प्रकाशित मिति: : 2019-12-01 11:27:27

प्रतिकृया दिनुहोस्