एपीएफ क्लबलाई तेस्रो चन्द्रागिरी गोल्डकपको उपाधि

फाइल तस्बिर: बिएल

नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपीएफ क्लबले तेस्रो चन्द्रागिरी गोल्डकपको उपाधि जितेको छ ।

नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा भएको खेलमा एपीएफले टाइब्रेकरमा ५-४ को जित दर्ता गरेको हो। निर्धारित समयको खेल १-१ को बराबरी र थप गरिएको समयमा पनि गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरमा लिइएको थियो।

पुलिसका लागि सुमन लामा, अजित भण्डारी, हेम तामाङ र भोल सिलवालले गोल गरेका थिए। यता एपीएफका गोलरक्षक अमृत चौधरीले विपक्षी कप्तान जुमानु राईको प्रहार बचाए।

यता एपीएफका लागि सुदीप सिख्राकार, आशिष लामा, नविन लामा, बुद्धिमान राई र रामकुमार कुमाल सफल भएका थिए।

यसअघि खेलको सातौं मिनेटमा एपीएफले प्रविन स्याङतानको गोलमा अग्रता लिएको थियो।

पहिलो हाफको तीन मिनेट समय बाँकी रहँदा पुलिसले खेल बराबरीमा ल्यायो। निरकुमार राईले गोल गर्दै पुलिसलाई खेलमा फर्काए।

विजेताले ६ लाख ५० हजार रुपैयाँ प्राप्त गर्दा दोस्राले ३ लाख ५० हजार रुपैयाँ हात पार्यो।

प्रकाशित मिति: : 2019-11-30 17:39:19

प्रतिकृया दिनुहोस्