पोखराको मतदान स्थल नजिकै फेरि बम पड्कियो

फाइल तस्बिर: बिएल

कास्की क्षेत्र नं. २ को अर्को मदतानस्थलमा पनि बम विस्फोट भएको छ।

पोखरा महानगरपालिका–१६ को दीप चण्डिका मतदानस्थल दिउँसो नजिकै बम विस्फोट भएको हो। विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको बताइएको छ।

यसअघि पोखराका ३ मतदान स्थलमा बम विस्फोट भएको थियो। तर, क्षति भने नभएको सुरक्षा अधिकारीहरुले बताएका छन्।

आज बिहान पोखराका २ मतदान केन्द्र नजिकै बम विस्फोट भएको थियो। पोखरा महानगरपालिका–९ मा रहेको नभ प्रभात मावि मतदान केन्द्रमा मतदान हुँदै गर्दा बम बिस्फोट भएको हो।

यसअघि शनिबार बिहान करिब पौने ८ बजेतिर पोखरा महानपाकै वडा नम्बर १६ मा रहेको शान्ति मावि मतदान केन्द्र नजिकै पनि बम विस्फोट गराइएको थियो।

सो बम मतदान केन्द्रभन्दा केही टाढा विष्फोट गराइएको र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। विस्फोटपछि केही बेरका लागि मतदान स्थगित समेत गरिएको थियो।

सो विस्फोटपछि कास्कीमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीको भनाइ छ। साथै निर्धक्क भएर मतदान गर्न प्रहरीले अपिल गरेको छ।

प्रकाशित मिति: : 2019-11-30 13:44:05

प्रतिकृया दिनुहोस्